नेपाल टेलिकम २० औं वर्षमा प्रवेश, २ करोड १३ लाख पुगे सेवाग्राही

दियो पोस्ट  

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड २० औं वर्षमा प्रवेश गरेको छ । आज सम्पन्न भएको १९ औं वार्षिकोत्सवसँगै सरकारबाट संन्चालित नेपाल टेलिकम २० औं वर्षमा प्रवेश गरेको हो । कम्पनीले प्रत्येक वर्षको माघ २२ गते आफ्नो वार्षिकोत्सव मनाउने गरेको छ । २०६० साल माघ २२ गते नेपाल दूरसञ्चार कम्पनीका रुपमा स्थापना भएको थियो । २०३२ साल असार १ गते नेपाल दूरसञ्चार संस्थानका रुपमा कम्पनीको स्थापना भएको थियो । कम्पनीले दर्ता भएको त्यस दिनलाई नै आफ्नो स्थापना दिवसका रुपमा मनाउँदै आएको छ ।

हाल कम्पनीमा २ करोड १३ लाखभन्दा बढी ग्राहक रहेका छन् । यो यही वर्षको मंसिर मसान्तसम्मको अवधिको तथ्यांक हो । यस्तै, टेलिकमको पीएसटीएन सेवातर्फ ४ लाख ५५ हजार ग्राहक छन् । यस्तै, आर्थिक वर्ष २०७८÷७९ मा कम्पनीको कूल राजश्व ४४ अर्ब ३७ करोड रुपैयाँ छ भने खुद नाफा ८ अर्ब ४७ करोड रुपैयाँ छ । हाल टेलिकममा फोरजी प्रयोगकर्ताको संख्या १ करोड १५ लाख ५० हजार छन् ।

टेलिकमले देशभर पीएसटीएन, सीडीएमए र जीएसएम लगायतका टेलिफोन सेवा उपलब्ध गराउँदै आइरहेको छ । यस्तै, कम्पनीले सेवाग्राहीहरुलाई इन्टरनेट सेवाको समेत सेवा दिँदै आइरहेको छ ।