काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारले सम्पत्ती शुद्धीकरण सम्बन्धी ऐनमा संशोधन गर्न बनेको विधेयक संसद्मा प्रस्तुत गर्न ढिलाइ गर्नु गम्भीर त्रुटि भएको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद पौडेलले यथाशिघ्र विधेयकलाई संसद्मा ल्याउन र पारित गरेर नेपाललाई अन्तर्राष्ट्रिय आर्थिक सञ्जालहरूमा कालोसूचीमा पर्नबाट बचाउन माग गरे ।
‘सम्पित्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन बनेको विधेयकलाई हालसम्म पनि संसद्मा ल्याइएको छैन, यो गम्भीर विषय हो,’ उनले भने, ‘गत पौषमा एफएटीएफको टोली नेपालको स्थलगत मूल्यांकन गरेर फर्कियो । उसले नेपाललाई तत्काल यससम्बन्धी कानुन बनाऊ, नत्र तिम्रो देश ग्रे जोनमा पर्छ भनेर सुझाव दिएको छ । उसले तोकेको मापदण्ड पूरा नगर्दा कतिपय ठूला देशहरू आर्थिक विकासको ठूला सञ्जालबाट बाहिरिएका छन् । जसको कारण ती देशहरूले आर्थिक संकटको सामना गर्नुपरेको छ । यस्तोमा हाम्रोजस्तो देशले दण्डित हुने अवस्था बन्यो भने संकटपूर्ण अवस्था आउन सक्छ ।’