काठमाडौं । ७८ लाख ५० हजार रुपैयाँसहित न्युरोडबाट दुई जना हुण्डी कारोबारी पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धानले कैलाली धनगढी उपमहानगरपालिका–९ घर भई काठमाडौं बिजुलीबजार बस्ने २३ वर्षीय किशोर चौधरी र कैलाली गोदावरी नगरपालिका–१० घर भई बिजुलीबजार बस्ने ५९ वर्षीय दीपेन्द्रबहादुर मल्ललाई पक्राउ गरेको हो ।
राष्ट्र बैंकले जारी गरेको निर्देशनविपरीत इजाजतपत्र नलिई वित्तीय कारोबार (हुन्डी) गरेको पाइएपछि पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।शुक्रबार अपरान्ह ५ बजे कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको कार्यालय प्रमुख एसएसपी मनोज केसीले बताए ।
पक्राउ परेका मल्ल विगत पाँच वर्षदेखि र चौधरी चार महिनादेखि न्युरोड क्षेत्रमा रहेका विभिन्न व्यक्तिहरूबाट हुण्डीको रकम संकलन गर्ने र बैंक डिपोजिटमार्फत् रकम व्यवस्थापन गर्दै आएको खुलेको छ ।
उनीहरू अर्का एक व्यक्तिको मातहतमा बसे दैनिक एक करोड भन्दामाथिको रकम कारोबार गर्ने गरेको केसीले बताए । उनीहरूलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ बमोजिम आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौ पठाइएको छ ।