भारतलाई हराउँदै नेपाल साफ यू–२० महिला च्याम्पियनसिपको फाइनलमा

दियो पोस्ट  

काठमाडौं । नेपाल साफ अन्डर २० महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । बंगलादेशमा जारी प्रतियोगिताको अन्तिम खेलमा भारतलाई पराजित गर्दै नेपालले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । लिग चरणको अन्तिम खेलमा आज नेपालले भारतलाई ३–१ गोलअन्तरले हरायो । नेपालको जितमा अञ्जली चन्द, प्रिति राई र अमिषा कार्कीले एक–एक गोल गरे ।

खेलमा अग्रता भने भारतले लिएको थियो । भारतकी अपूर्ण नार्जारीले २०औँ मिनेटमै गोल गर्दै खेलमा अग्रता दिलाएकी थिइन् । तर, दोस्रो हाफ सुरुभएको केहीबेरपछि नै अञ्जलीले गोल गर्दै नेपाललाई खेलमा फर्काइन् ।

६९औँ मिनेटमा नेपालले पेनाल्टी प्राप्त गर्यो । कप्तान प्रितिको पेनाल्टी प्रहार गोलमा परिणत भएपछि नेपाल २–१ ले अघि बढ्यो । नेपालले थप एक गोल भने निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा गर्यो । अमिषाले बललाई जाली चुमाउँदै नेपालको जित सुनिश्चित गरिन् ।

राउन्ड रोविन आधारमा खेलाइएको खेलले सुरुवातमै हार व्यहारेको थियो । पहिलो खेलमा बंगलादेशसँग ३–१ गोलले पराजित नेपालले दोस्रो खेलमा भुटानलाई ४–० गोलले हराएको थियो ।

तीन खेलबाट ६ अंक जोडेको नेपाल तालिकाको शीर्षस्थानमा छ । तीन खेल खेलेको भारत र दुई खेल खेलेको बंगलादेशको समान चार अंक छ ।

आजको हारपछि पनि भारत प्रतियोगिताको फाइनल पुग्ने सम्भावना रहेको छ । तर, त्यसका लागि भुटान र बंगलादेशबीचको खेलको नतिजाले निर्णय गर्नेछ ।

प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटान सहभागी छन् ।