काठमाडौं । नेपाली काँग्रेसका नेताले ओखलढुङ्गा जिल्लाको विभिन्न विद्यालयहरूमा पुस्तकालय स्थापना गरेका छन् । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका लिलाबल्लभ दाहाल (काका)ले जिल्लाका विभिन्न विद्यालयहरूमा पुस्तकालयको स्थापना गरेका हुन् ।
भ्वाइस फर च्वाइस् नेपालको सहकार्यमा नेता दाहालले नारायणथान मावि, माम्खा मावि र बरुणेश्वर माविमा पुस्तकालय स्थापना गरेका छन् । आज (विहिबार) ओखलढुङ्गाको मुलुङ गाउँपालिकास्थित बरुणेश्वर माविमा नेता दाहालको पहलमा १७ लाख बराबरको पुस्तकालय सञ्चालनमा ल्याइएको हो ।
एक कार्यक्रमका बिच सो पुस्तकालय उद्घाटन गरिएको हो । प्रदेश नं १ का सभामुख बाबुराम गौतमको प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा प्रतिनिधि सभाका सदस्य रामहरि खतिवडा र प्रदेशसभा सदस्य प्रदीप सुनुवार विशिष्ट अतिथि थिए र नेपाली काँग्रेसका नेता बालकृष्ण दाहाल अतिथि थिए । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष उत्तम राई, उपाध्यक्ष उर्मिला खतिवडा र गाउँपालिकाको शिक्षा शाखा प्रमुख सरस्वती पौडेल समेत उपस्थित थिए ।
कार्यक्रमका सभापति समेत रहेका विद्यालयका प्रधानाध्यापक कुल प्रसाद खतिवडाका अनुसार पुस्तकालयका कारण विद्यार्थीहरूले धेरै लाभ उठाउन सक्ने छन् । उनले भने,‘यो पुस्तकालयले शैक्षिक उन्नतिमा मात्र नभई यस क्षेत्रका धेरै विद्यार्थीहरूलाई शैक्षिक स्तर उकास्न समेत सहयोग गर्छ ।’
समाज सेवामा सक्रिय काँग्रेसका नेता लीलाबल्लभ दाहालले यसअघि समेत जिल्लाका विभिन्न पालिकाका विद्यालयहरूमा पुस्तकालय स्थापना गरेका छन् । ‘लोकसेवाको लागि टेवा, विद्यार्थीको शैक्षिक स्तर वृद्धिको लागि हाम्रो अभियान’ मूल नारा बोकेर समाज सेवामा होमिएका दाहालले लोकसेवा तयारीका, साहित्यिक र विविध क्षेत्रका पुस्तकहरू हस्तान्तरण गरेका छन् ।