सरकारसँगको वार्तापछि यातायात मजदुरले लिए बन्द फिर्ता

दियो पोस्ट  

काठमाडौं । सरकारसँगको वार्तापछि यातायात मजदुर संगठनले मंगलबारको बन्द फिर्ता लिएका छन् । मंगलबार बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलगायतसँगको वार्तापछि मजदुर संगठनले हडताल फिर्ता लिन सहमत भएका हुन् । मन्त्री श्रेष्ठको सचिवालयका अनुसार सोमबारको घटनामा संलग्नलाई कारबाही गर्ने र मजदुरका जायज माग समाधानका लागि सरकारले पहल गर्ने सहमति भएको छ ।

यातायात मजदुरलाई कुटपिट गर्नेहरुमाथि कारबाही गर्ने, ल्होत्से बहुउद्देश्यीय प्रालिले नयाँबसपार्कमा गरेको भनिएको अनियमितता लगायतका विषयमा छानविन गर्ने, बाँकी मुद्दाहरुबारे मन्त्रालयले गठन गरेको सर्वपक्षीय कार्यदलमा छलफल गर्ने र सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने सहमति भएको छ ।

यातायात मजदुरहरुले बढाइएको ट्राफिक प्रहरीको जरिवाना खारेज लगायत १० बुँदे माग राखेर सोमबारदेखि आन्दोलन गरेका थिए ।