ल्होत्से मलमा तोडफोड र लुटपाट गर्ने मुख्य १५ जना पक्राउ

दियो पोस्ट  

काठमाडौँ । ल्होत्से मलमा भएको लुटपाटमा संलग्न १५ जना पक्राउ परेका छन् । यातायात व्यवसायीको आन्दोलनका क्रममा मलमा प्रवेश गरेर मोबाइलहरु चोरी गर्दै गरेको देखिएका उनीहरुलाई नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंका एसएसपी मनोज केसीले बताए ।

उनले भने, ‘भिडियोमा देखिएका मुख्य मुख्य व्यक्तिलाई समातिसकेका छौं, थप केही निगरानीमा छन् ।’ पक्राउ परेका मध्ये ७ जना महानगर, बाइसधारा र तारकेश्वर यातायातका चालक र सह–चालक छन् । पक्राउ परेका मध्ये अरु केही तोडफोड र आगजनीमा संलग्न व्यक्ति पनि छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले सोमबार भएको घटनामा चार जनालाई पहिल्यै नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । मोबाइल चोर्दा चोर्दै सुरक्षागार्डले नियन्त्रणमा लिएर उनीहरुलाई प्रहरीको जिम्मा लगाएका थिए ।

आन्दोलनका क्रममा परिस्थिति प्रहरीको नियन्त्रण बाहिर गएको मोका छोपेर उनीहरुले दुई वटा पसलमा तोडफोड र लुटपाट गरेका थिए । त्यसबेलाको भिडियो र फोटोहरुका आधारमा अनुसन्धान गरेर संलग्नलाई पक्राउ गरिएको एसएसपी डा.केसीको भनाइ छ ।

गत सोमबार यातायात मुजदुर संघ तथा संगठनले गोंगबु क्षेत्रमा ट्राफिक कारबाहीको विषयलगायत विभिन्न १० बुँदे माग राखी गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीको गाडी, प्रहरी बिट तथा ट्राफिक आइल्यान्ड तोडफोड तथा आगजनी गरेको आरोपमा यसअघि ६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । योसहित हालसम्म उक्त घटनामा संलग्न १८ जना पक्राउ परिसकेका छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका डीआईजी मसाउद आलम खाँको नेतृत्वमा काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी हिमालय श्रेष्ठ र काठमाडौं प्रहरी परिसरका एसपी सिताराम रिजालसहितको सहभागितामा छानबिन समिति गठन भएको छ । प्रहरी प्रवक्ता डीआईजी पोशराज पोखरेलका अनुसार एक साताभित्र प्रतिवेदन बुझाउन समितिलाई निर्देशन दिइएको छ ।

सिफारिस