आमालाई जोगाउन किचनमा छिरेका थिए सांसद भण्डारी

दियोपोस्ट संवाददाता

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा प्रतिनिधि सभाका सदस्य चन्द्रकान्त भण्डारीको स्थायी घर गुल्मिमा छ । तर भण्डारी पछिल्लो केही समयदेखि राजधानिको बुद्धनगरस्थित घरमा बस्दै आएका छन् । बुद्धनगरस्थित घरको भुईतलामा भण्डारी आफ्नी आमा र एक सहयोगीसँग बस्दै आएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी सीताराम रिजालका अनुसार बुधबार सांसद भण्डारी र उनकी आमा मात्रै घरमा थिए, सहयोगी भने घरमा थिएनन् । बुधबार राति करिब सवा १० बजे तिर सांसद भण्डारीकी आमा हरिकला भण्डारीले किचेनमा ग्यास लिक भएको थाहाँ पाइन् र छोरा (चन्द्रकान्त भण्डारी)लाई भनिन् ।

आमाले ग्यास लिक भएको जानकारी पाएपछि सांसद भण्डारी किचनेमा पुगेर ग्यास बन्द गर्न गएका थिए । बन्द गर्नको लागि बत्ती बाल्न खोज्दा स्पार्क निस्केर एक्कासी आगो लागेर बिस्फोट भयो । घरमा अन्य व्यक्ति समेत थिए तर अन्यलाई भने केही नभएको प्रारम्भिक निष्कर्ष छ । ‘अहिले हामीले सबै कुराहरू बुझिसकेका छैनौं। राति ग्यास लिक भएको थियो। किचेन भित्र ग्यास गन्हाएपछि आमाले माननीयज्यूलाई भन्नुभएछ,’ एसपी रिजालले भने ,‘उहाँ कहाँ के गन्हाएको हो भनेर हेर्न जानुभएछ।’

किचेनमा पुगेर सांसद भण्डारीले बत्ती बाल्‍ने क्रममा एक्‍कासी आगोको झिल्का आएर बिस्फोट भएको उनले बताए। ‘बत्ती बाल्न खोज्दा स्पार्क निस्केर एक्कासी आगो लागेर बिस्फोट भयो भन्ने बुझिएको छ,’ उनले भने।

यसरी बिस्फोट हुँदा घरको फल्स सिलिङ, झ्यालका सिसाहरू फुटेका थिए। घरमा अरू पनि उपस्थित थिए । तर उनीहरू भने सकुशल नै छन् । बिस्फोट भएको थाहा पाएपछि प्रहरी घटनास्थल पुगेको थियो । त्यसपछि सांसद भण्डारी र उनकी आमालाई उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको थियो । अग्निनियन्त्रक राजकुमार ठकुरीका अनुसार ग्यास सिलिन्डर पूरानो भएकाले पनि पड्किने गरेको देखिन्छ ।

बिस्फोटमा परेर घाइते भण्डारीकी आमा ८६ वर्षीया हरिकला भण्डारीको मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा हरिकला भण्डारीको बिहीबार बिहान १०ः५७ बजे मृत्यु भएको हो।

कांग्रेस सांसद चन्द्रकान्तको कीर्तिपुरमा उपचार जारी छ । सांसद भण्डारीको अनुहार, दुबै हात, दुबै खुट्टा गरी करिब ३० प्रतिशत भाग जलन भएको छ । उनकी आमाको करिब ७० प्रतिशत भाग जलेको थियो ।