काठमाडौं । नेपाली काँग्रेसका नेता तथा प्रतिनिधि सभाका सदस्य चन्द्रकान्त भण्डारीको स्थायी घर गुल्मिमा छ । तर भण्डारी पछिल्लो केही समयदेखि राजधानिको बुद्धनगरस्थित भाइकाे घरमा बस्दै आएका छन् । घरको भुईतलामा भण्डारी आफ्नी आमा र एक सहयोगीसँग बस्दै आएका थिए ।
बुधबार दिउँसो भण्डारी संसद बैठकमा सहभागी भएका थिए । त्यसपछि बेलुकी पार्टीमा गएका उनी, साढे नौ बजेतिर घर फर्किएका थिए । भण्डारी बुद्धनगरस्थित भाइको घरमा भुई तलमा आमा हरिकलासँग बस्दै आएका थिए । सुत्ने तरखरमा थिए, उनी । आमा हरिमाया ग्यास गन्ध आरहेको भन्दै भान्साभित्र पसिन् । आमा भान्सामा पस्दै गर्दा भण्डारी पनि आमाका पछाडि लागेर भान्सामा छिरे ।
अध्याँरो थियो । भण्डारीले ‘स्विच अन’ गरे । बत्ती बल्न नपाउँदै कोठाभरि आगो दन्कियो । स्वीच अन गर्दा आएको स्पार्कका कारण आगो लागेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । भण्डारीले आफूभन्दा अगाडि रहेकी आमालाई बचाउन खोजे । तर, आमा छोरा दुवै जना घाइते भए ।
आमाको निधनबारे बेखबर भण्डारी
घाइते भएका उनीहरूलाई उपचारका लागि सुरुमा बानेश्वरस्थित सिभिल अस्पताल पुर्याइएको थियो । सिभिल अस्पतालले बुधबार राति नै कीर्तिपुर अस्पताल रिफर गरेको थियो । अस्पतालले प्राथमिक र प्रारम्भिक उपचारपछि दुवै जनालाई आईसीयूमा राखेर उपचार सुरु गरेको थियो । भण्डारीको अनुहार, दुवै हात र दुवै खुट्टा गरी २५–३० प्रतिशत र आमाको शरीरको अधिंकाश भाग गरी ७० प्रतिशत जलेको अस्पतालले जनाएको थियो ।
दुवै जनाको श्वासनलीमा तातो हावा र धुवाँको कारणले जलन भएको हुन सक्ने सम्भावना अत्यधिक भएको भन्दै स्रोतसाधनको कमी हुँदा नेपालमा उपचार गर्न सम्भव नहुने भएकाले देशबाहिर उपचारका लागि लैजान सिफारिस गरेको थियो ।
भण्डारीसँगै आईसीयूमा उपचार भइरहेको थियो, आमा । उनले आफूलाई उपचारका लागि भारत जाने भएपछि आमालाई पनि उपचारका लागि सँगै लाने व्यवस्था गर्न भनेका थिए । एक नेताले भने, ‘चन्द्र दाइले आफूसँगै आमालाई पनि उपचारका लागि लैजानुपर्छ भन्नुभएको थियो ।’ भण्डारीको भनाइलाई उद्धत गर्दै उनले भने, ‘आमालाई मसँगै भारत लैजानुपर्छ है, दुवैजनाको सँगै जाने व्यवस्था गर्नू ।’
परिवारका सदस्यले उनको कुरामा सहमति जनाएका थिए । आफूसँगै आमालाई लैजाने भनेपछि उनी आमाछोरा नै निको हुने आशावादी बनेका थिए ।
तर, भण्डारीको आमा छोरा निको हुने सपना अधुरै रह्यो । उपचारका लागि भारत उड्नुभन्दा पहिला नै भण्डारीकी आमाले प्राण त्यागिन् । बिहान १० बजेर ५७ मिनेटमा उनको निधन भएको अस्पतालले जनाएको छ । आमाको मृत्युबारे सांसद भण्डारी बेखबर छन् ।