काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको बताएका छन्। आइतबार बिहान टुँडिखेलमा आयोजित प्रजातन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सरकार क्रियाशील रहेको दाबी गरे। फागुन ७ नेपाल र नेपाली जनताका निम्ति ऐतिहासिक महत्वको दिन भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आजभन्दा ठिक ७३ वर्ष अगाडि जहाँनियाँ निरंकुश व्यवस्थामाथि विजय हासिल गरेको दिनलाई स्मरण गरे।
उनले भने, ‘यस महत्वपूर्ण दिनमा प्रजातान्त्रिक अधिकार, गणतान्त्रिक व्यवस्था र राष्ट्रियताको रक्षाका निम्ति आफ्नो जीवनको बलिदान गर्नुहुने महान सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।’
राणा शासनको अन्त्य गर्दै प्रजातन्त्रको स्थापना गर्ने नेपाली जनताको बलिदानीपूर्ण संघर्षदेखि वर्तमानसम्म देशमा निकै ठूला क्रान्ति, आन्दोलन र संघर्षहरू भएको उल्लेख गर्दै उनले ती सबै क्रान्ति, आन्दोलन र संघर्षहरूले लोकतन्त्र, शान्ति, अग्रगमन, सामाजिक न्याय र आर्थिक–सामाजिक रूपान्तरणका निम्ति ऐतिहासिक भूमिका निर्वाह गरेको बताए।
‘यस ऐतिहासिक अवसरमा ती सबै आन्दोलनहरूप्रति उच्च सम्मान व्यक्त गर्दै समाजवादउन्मुख राज्यको आधार तयार पार्ने राष्ट्रिय कार्यभारमा एकजुट भएर लाग्न सम्पूर्ण जनसमुदायमा अपिल गर्दछु,’ प्रचण्डले भने।