काठमाडाै । निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनलाई उपयुक्त नीतिगत, कानुनी र संस्थागत संरचनासहित समयानुकूल बनाउन एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार गरी पेस गर्ने भएको छ ।
निर्वाचन आयोगले सातौं निर्वाचन दिवसका अवसरमा एकीकृत निर्वाचन कानुनको मस्यौदा पेस गर्ने जनाएको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यस वर्षको निर्वाचन सञ्चालन र व्यवस्थापनका क्रममा आयोगले संविधान र कानुनको पालनासहित अवलम्वन गरेका नवीन अभ्यासको समीक्षाका क्रममा केही सकारात्मक पहल गर्न सकिएको अनुभव भएको बताएका छन ।
उनले गत निर्वाचनका क्रममा देखिएका समस्या र चुनौतीलाई समाधान गर्न मार्गदर्शन पनि प्राप्त भएको बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगलाई आएका सुझावलाई समेटेर आगामी निर्वाचनको तयारी गर्ने र निर्वाचन कानुन र व्यवस्थापनका क्रममा सुधार गर्नुपर्ने पक्षहरूमा पनि दृढतापूर्वक अग्रसर हुने प्रतिवद्धता जनाए ।
उनले निर्वाचन पद, पैसा र पहुँचबाट प्रभावित नभई निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्ने बताए । उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र स्वतन्त्र बनाउन सहयोग गर्ने सबै पक्षलाई धन्यवाद पनि दिए । निर्वाचन आयोगले ‘निर्वाचनमा सबै सधैँ सँगै’ भन्ने नारासहित सातौँ निर्वाचन दिनवस मनाउन लागेको हो ।