छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित ७ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । सिरहाको मिर्चैया नगरपालिका–६ कटारी चोकबाट अवैध लागूऔषध गाँजा १० किलो ५ सय ग्रामसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कल्याणपुर नगरपालिका–९ डुमरी घर भई मिर्चैया बस्ने ४६ वर्षीय कुशेश्वर यादव र धनगढीमाई नगरपालिका–१४ सरेअम्वास बस्ने ३६ वर्षीय गौरब शाही रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो सिरहा र ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले अन टेष्ट लेखिएको मोटरसाइकलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी मोटरसाइकलमा सवार उनहरुलाई पक्राउ गरेको हो । अनुसन्धानको क्रममा
गाँजा ओसारपसारमा संलग्न गोलबजार नगरपालिका–१ मुक्सार टोल घर धनगढी नगरपालिका–१४ सरेअम्बास टोल बस्ने २४ वर्षीय काले भन्ने भुपेन्द्र बहादुर ठकुरीलाई समेत मिर्चैयाबाट बागमती प्रदेश ०२–०२६ प०१९७ नम्बरको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको हो ।

यस्तै, रौतहटको फतुवाबिजयपुर नगरपालिका–९ लक्ष्मिनिया बकैया खोलाको बाँधबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोग्रामसहित कटहरिया नगरपालिका–१ भसेढवा टोल बस्ने १९ वर्षीय बिकाश कुमार दासलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लक्ष्मिनीया र सशस्त्र प्रही बल नेपाल सुरक्षा बेस लक्ष्मिनियाबाट संयुक्तमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

साथै चितवनका राप्ती नगरपालिका–१ लोथरबाट अवैध लागूऔषध गाँजा करिब ५६ किलोग्रामसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका–१६ बस्ने ३० वर्षीय अर्जुन दर्जी र राप्ती नगरपालिका–१ बस्ने १५ वर्षीय किशोर रहेका छन् । अस्थाई प्रहरी पोष्ट लोथरबाट खटिएको प्रहरीले बा.३ च २५०४ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

यता, कैलालीको धनगढी उपमहानगरपालिका–७ थारु छत्राबास नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन ८ ग्रामसहित सोही उपमहानगरपालिका–४ बस्ने २६ वर्षीय अछय चौधरीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीको टोलीले जाँच गर्ने क्रममा उक्त खैरो हेरोइनसहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।