काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग नेकपा ब्युँताएर जान सकिने बताएका छन् । सिंहदरबारमा दुई नेताहरूबीच भएको छलफलमा प्रचण्डले उक्त प्रस्ताव गरेका हुन् ।
स्रोतका अनुसार प्रधामन्त्री प्रचण्डले ‘नेकपा ब्युँताएर जाऔँ, तपाईं राष्ट्रपति हुनुहोस्, म प्रधानमन्त्री छँदैछु, पछि केपीजी प्रधानमन्त्री हुनुहुन्छ,’ भनेका थिए ।
प्रचण्डको उक्त प्रस्तावको विषयमा माधव नेपाल पनि सकारात्मक रहेको बताएका थिए । उक्त सन्देश नेपालले एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलमार्फत एमाले अध्यक्ष केपी शर्मा ओलीसम्म पुर्याइसकेका छन् ।
पुरानो चुनावी पाँचदलीय गठबन्धन ब्युँताउने कुरा कांग्रेसको चाहना रहेको नेताहरूको भनाइ छ । त्यसबारे औपचारिक सहमतिमा भने उनीहरू पुगेका छैनन् । त्यहीबीचमा नेकपा ब्युँताउने कुरा छलफलमा आएको हो ।
सिंहदरबारमा भएको छलफलमा प्रचण्डले ओलीको विषयमा नकारात्मक कुरा नगरेको पनि स्रोतको भनाइ छ । राष्ट्रपतिको विषयमा छलफल गर्न एमालेको सचिवालय बैठक भोलि बस्दैछ ।
नेकपा एसले माधव नेपाललाई राष्ट्रपति बनाउने निर्णय गरे एमालेले पनि निर्णय लिने एमाले स्रोतको भनाइ छ । स्रोतले भन्यो, ‘नेकपा एसले निर्णय गरेर माधव नेपाललाई उम्मेदवार बनाउन तयार भएमा एमालेले भोलिको सचिवालय बैठकबाट निर्णय गर्नेछ ।’
त्यस्तो अवस्थामा एमालेको प्रस्ताव र जसपाको समर्थनमा माधव नेपाल राष्ट्रपतिको उम्मेदवार हुन सक्ने पनि बताइएको छ । एमाले नेताहरूको भनाइमा माधव नेपालले उम्मेदवार हुन हिम्मत गर्दा उनी निर्वाचित हुने अवस्था छ ।