काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चार दलीय गठबन्धनको निर्णायक बैठक फेरि सुरु भएको छ । बिहान चार घण्टा छलफल गरेर स्थगित गरिएको बैठक फेरि बसेको हो ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरू बैठकमा सहभागी छन् ।
पुरानै गठबन्धन ब्युँताउने तथा राष्ट्रपतिमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने विषयमा लगभग सहमति जुटेको नेताहरूले बताएका छन् ।
उपराष्ट्रपतिका लागि जसपाले दाबी गरेको छ । अन्य दलको समर्थन रहेको छ । एकीकृत समाजवादीले समेत राष्ट्रपतिमा दाबी गरेपनि चार दल भित्रैबाट एकजना राष्ट्रपति बनाउने विषयमा सहमत भएको छ ।
शक्ति बाँडफाँटमा कुरा मिल्दा राष्ट्रपतिमा पौडेललाई समर्थन गर्न सकिने संकेत एकीकृत समाजवादीले दिएको कांग्रेस नेताहरू बताउँछन् । सत्ता गठबन्धन समेत फेरिने भएकाले बाँकी विषयमा अहिलेको बैठकले टुंगो लगाउनेछ ।
यसअघि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीसँग समेत दुई घण्टा छलफल गरेका थिए ।