नेपाली सेनाको डिजिटल अभिलेखमा छिद्र छ, गोप्य सूचनाहरु टर्की पुग्छन् : आरजु राणा

दियो पोस्ट  

काठमाडौं । नेपाली कांग्रेसकी सांसद एवं नेता आरजु राणा देउवाले नेपाली सेनाको डिजिटल अभिलेखमा छिद्र रहेको खबर आफूले पाएको बताएकी छन्।

मंगलबार ललितपुरमा नेपाल विद्यार्थी संघद्वारा आयोजित अल नेपाल ह्याकथन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। नेपालमा डिजिटल प्रणाली शुरुवात गरिए पनि त्यसको प्रयोग गर्न नेपालीहरु पूर्ण सक्षम नरहेको बताइन्।

उनले नेपाली सेनाको डेटाहरु आफूले टर्की पुग्ने गरेको जानकारी पाएको उल्लेख गर्दै साइबर सुरक्षामा नेपालले आफ्नै प्रविधिको विकास गर्न जरुरी रहेको बताइन्। नेपालले साइबर सुरक्षाका लागि आफ्नै प्रविधि विकास गर्न नसकुन्जेल नेपालको सुरक्षा लगायतका सबैखाले तथ्यांकहरु चोरी हुने खतरा रहेको उल्लेख गरिन्।

हालै मात्र पनि सरकारी वेबसाइट ह्याक भएको उल्लेख गर्दै राणाले सरकारले गरेको काममा आईटी क्षेत्रका विद्यार्थीहरुले थप अध्ययन गर्न आवश्यक रहेको बताइन्।

उनले भनिन्, ‘हाम्रो जस्तो देशमा के हुँदो रहेछ भने हामीले सुरु त गर्‍यौँ, हाम्रो आर्मीको सबै डेटा टर्कीमा देखाइदियो। जर्साबहरुको सबै ईमेल देखाइदियो मलाई। पर्सनल इमेल थियो, तर भोलि सुरक्षासम्बन्धी कुनै पनि ईमेल अर्को देशबाट सहजै हेर्न सकिन्छ। त्यसैले हामीले साइबर सेक्युरेटीलाई पनि कसरी हेर्ने ? रिसेन्ट्ली (हाले) सरकारकै वेबसाइट ह्याक पनि भयो। साइबर सुरक्षाका लागि हामीले आफ्नै समाधान खोज्नुपर्छ। सरकारले केही न केही गरेको छ, तर विद्यार्थीहरुले यसमा अनुसन्धान गर्नुपर्छ।’