सरकारी जग्गा हडप्ने गिरोहमा अरुण चौधरीका माइला दाई बसन्त चौधरी पनि, सेटिङ्गमा उन्मुक्ति

- दियोपोस्ट  

काठमाडौं । बाँसबारी छाला जुत्ता उद्योगको १० रोपनी सरकारी जग्गा कब्जा गरेको अभियोगमा अर्बपति व्यापारी विनोद चौधरीका भाई अरुण चौधरीसहित २ जना पक्राउ परेका छन् । उनलाई प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो (सिआइबीले) पक्राउ गरेको हो । चौधरी समुहले नै गरेको यो गम्भिर अपराधमा उनका दाजु विनोद चौधरीको पनि संलग्नता छ । तर, विनोदलाई उम्काउने कोशिस छ । यसरी नै उनका माईला भाई बसन्त चौधरीले थापाथलीस्थित परोपकार तथा प्रसुती अस्पताल अगाडी रहेको सरकारी जग्गा गैरकानुनी रुपमा हडपेका छन् । उनलाई पनि पक्राउ गरि कारबाही गर्नुपर्ने हो तर शक्तिको आडमा सरकारी जग्गा कब्जा गरि नर्भिक अन्तर्राष्ट्रिय अस्पताल संचालन गरेका छन् ।

काठमाडौं महानगरपालिका साविक वडा नं. ११ स्थित कित्ता नमबर २०८५ को एक रोपनी ८ आना एकदाम जग्गा चौधरीले कौडीको भाउमा कब्जा गरेका छन् । तत्कालिन भूमिसुधार कार्यालय काठमाडौंका भूमि सुधार अधिकारी लम्ब प्रसाद सिवाकोटीले गैरकानुनी रुपमा उक्त जग्गा चौधरीलाई दिएका थिए । जबकी सरकारी जग्गा भोगचलनका लागि दिने अधिकार मन्त्रिपरिषदलाई मात्रै छ । मन्त्रिपरिषदले गर्ने निर्णय सिवाकोटी एक्लैले गरिदिएका थिए । सम्झौता पत्रमा नर्भिकका तर्फबाट तत्कालिन बरिष्ठ प्रबन्धक मोहन प्रसाद खनाल र भूमि सुधार अधिकारी लम्ब प्रसाद सिवाकोटीले हस्ताक्षर गरेका छन् । त्यति मात्रै होइन थापाथलीजस्तो प्राइम लोकेशनको जग्गा चौधरीले वार्षिक ३७ हजार ९ सय ८९ रुपैयाँमा हत्याएका थिए । अर्थात मासिक ३१ सय १५ रुपैयाँ भाडामा थापाथलीको १ रोपनी ८ आना जग्गा भाडाको नाममा गैरकानुनी तवरले हत्याएका छन् । अवैध रुपमा सोही जग्गामा संरचना बनाएको खुलेपछि २०७९ साउनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह आफै सहभागी भएर डोजर चलाउन लागेका थिए । तर, नर्भिकका अधिकारीले अक्सिजन प्लान्ट रहेको र विरामीको मृत्यु हुने भन्दै बालेन शाहको डोजर फिर्ता गराएका थिए । केही समय मागेका उनीहरुले भवन भत्काउनुको सट्टा अदालत गएर अन्तरिम आदेश ल्याएका थिए । अदालतमा मुद्दा सेटिङ्गकै भरमा अहिले अवैध संरचना कायम छ ।

चौधरीले थापाथलीमा मात्रै होइन अन्यत्र क्षेत्रमा समेत जग्गा हडपेका छन् ।

बसन्त चौधरीले नर्भिक हस्पिटल एण्ड मेडिकल कलेजलाई भविष्यमा जग्गा चाहिने भन्दै अस्पताल र आफ्ना केही एस म्यानहरुको नाममा काठमाण्डौको कलंकीभन्दा केही माथिको स्वीट्जरल्याण्ड पार्क छेउमा करिब १०० रोपनी जग्गा किनेर राखिएको छ । सो जग्गा आसपासको करिब १० रोपनी सरकारी जग्गा पनि हडपिएको स्रोत बताउँछ ।
बसन्त चौधरीले दुहबीको पशुपति बिस्कुट र सुनसरीको सोनापुरस्थित महालक्ष्मी मैदा मिलको नाममा पनि केही विगाहा जग्गा किनेर राखेका छन् । ती दुवै ठाउँमा किनिएको नम्बरी जग्गासँगै जोडिएको केही विगाहा सरकारी जग्गा समेत हडपेका छन् ।

 

त्यतिमात्र होइन, आफ्ना आमा र बुबाको नाममा लुनकरदास गंगादेवी च्यारिटी हस्पिटल सञ्चालनको बाहानामा सुनसरीको दुहबी बजारको प्राइम लोकेसनमा करिब एक विगाहा सरकारी र ऐलानी जग्गा समेत बसन्त चौधरीले वर्षौदेखि हडपेका छन् । दुहबी नगरपालिकाले सो अस्पताल खाली गर्ने पटकपटक प्रयत्न गरे पनि पैसा पेलेर जनप्रतिनिधिलाई पनि तै चुप मै चूप गराउने गरिएको छ ।

च्यारिटीको नाममा खोलिएको त्यो अस्पताल बन्द भएको वर्षौ भयो । तर, सोही अस्पतालको नाममा च्यारिटीको काम गर्ने भन्दै महंगा मेडिकल उपकरण भित्र्याएर नर्भिकमा ल्याउने उनको धन्दा छुट्टै रहेको छ । सानादेखि ठूला स्वास्थ्य उपकरण समेत सो च्यारिटी अस्पतालको नाममा भित्र्याउने क्रम जारी छ, तर अस्पताल वर्षौदेखि बन्द छ । अर्कोतर्फ सोही अस्पतालको नाम अगाडि च्यारिटी शब्द जोडेर करोडौंको सरकारी जग्गा पनि वर्षौदेखि हडपिएको छ । चौधरीलाई पनि पक्राउ गरेर अनुसन्धान गरेर राज्यले ठूलो उपलब्धी हात पार्न सक्नेछ ।