
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको नैतिक धरातल कमजोर बनाउने बताएका छन् । महालेखापरीक्षकको प्रतिवेदनमा हरेक वर्ष बेरुजू बढ्दै जानु दुःखद कुरो हो । पौडेलले त्यस्तो विचलनलाई समयमै नियन्त्रण गर्न अख्तियार सतर्क हुनुपर्ने बताएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ स्थापना दिवसको सन्दर्भमा कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मुलुकको आर्थिक समृद्धि र सामाजिक न्याय हासिल गर्न भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको बताएका थिए ।
पौडेलले अख्तियारले साना प्रकृतिका कसुरदारलाई मात्रै प्राथमिकतामा राखेको र ठूलो भ्रष्टाचारमा मुछिएकाहरू उम्किरहेको भन्ने नागरिकको गुनासो सम्बोधन हुनेगरी काम गर्न अख्तियारलाई आग्रह समेत गरेका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेल भन्छन, ‘आर्थिक समृद्धि र सामाजिक न्याय हासिल गर्न भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त हो । हाम्रो अन्तर्राष्ट्रिय प्रतिबद्धता, संवैधानिक दायित्व र नागरिकको अपेक्षाका लागि लोकतन्त्रको मूल्यमान्यताअनुरूप सबैले आफ्नो जीवनशैलीलाई सरल, इमानदार र पारदर्शी बनाउन जरुरी भएको छ ।’
पौडेलका अनुसार ‘भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको उन्नतिमा अवरोध सिर्जना गर्नेमात्रै होइन, राष्ट्रको नैतिक धरातल नै कमजोर बनाउन सक्छ । तसर्थ, भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिबद्धता पहिलो प्रस्थान विन्दु हो ।’
शासन प्रणालीलाई पारदर्शी र जवाफदेही बनाउन भ्रष्टाचार नियन्त्रणका लागि ठोस् कदम चाल्न आवश्यक रहेको उनको भनाई छ ।