काठमाडौं । ३६ लाख रुपैयाँमा जालसाजी गरेर लिएको बाँसबारी छाला तथा जुत्ता कारखानामा रहेको सरकारी जग्गा धितो राखेर नेपाल बैंक लिमिटेडबाट अरुण चौधरीको ग्रुपले ऋण लिएको खुलासा भएको छ ।
बाँसबारीको सरकारी जग्गा हडपेका चौधरीले सोही जग्गा धितो राखेर नेपाल बैंक लिमिटेडबाट लिएको करिब २९ करोड ऋण असुल्न बैंकले ताकेता शुरु गरेपछि उक्त कुरा खुलासा भएको हो ।
उक्त जग्गा हडपेकोमा सीआईबीले अध्यक्ष सञ्जय ठाकुर, बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र अरुण चौधरीलाई गत माघ १८ गते पक्राउ गरी अनुसन्धान थालेको थियो । तर, काठमाडौं जिल्ल अदालतका न्यायाधीश यज्ञप्रसाद आर्चायले अनुसन्धान नसकिए पनि दुई दिनभित्र छाड्न भनेपछि उनीहरु माघ २४ गते छुटेका थिए ।
उनीहरु छुटेपिन सीआईबीले उनीहरुमाथिको अनुसन्धान भने रोकेको थिएन । उनीहरुले जालसाजी गरेर लिएको सरकारी स्वामित्वको १० रोपनी जग्गा फिता गराउने प्रक्रियालाई अघि बढाइरहेको छ । त्यसैले सरकारले अहिले चौधरी ग्रुपमाथि कारबाही गरी जग्गा फिर्ता लिने प्रक्रिया सुरु गरेपछि नेपाल बैंकले चौधरी ग्रुपलाई कर्जा चुक्ता गर्न दबाब दिएको बुझिएको छ ।
नेपाल बैंकको कर्जा धितोविहीन भएर डुब्ने सम्भावना रहेकाले चौधरी ग्रुपलाई दबाब दिएको हो ।