काठमाडौं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक विश्वासको मत लिने तयारी गरेका छन् । मधेश सरकारमा सहभागी भएको सिके राउत नेतृत्वको जनमत पार्टीले माघ ९ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आइतबार तेस्रो पटक विश्वासको मत लिने तयारी गरेका हुन्।
विश्वासको मत लिनका लागि आइतबार २ बजे प्रदेश सभाको बैठक समेत बोलाइएको छ। सङ्घीय गठबन्धनको बैठक सम्पन्न भएसँगै मधेश प्रदेशका मुख्यमन्त्री यादवले ६ गते विश्वासको मत लिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
२०८० जेठ १ गते मधेश सरकारमा रहेको नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले जेठ ३० गते दोस्रो पटक विश्वासको मत लिएका थिए। सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएमा पुनः ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने कानुन नेपालको संविधान २०७२ को धारा १८८ को २ मा मुख्यमन्त्रीले जुनसुकै बेला संसद् बैठक आह्वान गरी विश्वासको मत लिन सक्ने प्रावधान छ।