बारा । नेपाल ‘प्रेस युनियन’ बाराका अध्यक्ष श्यामबाबु प्रसाद यादवलाई प्रेस युनियन मधेस प्रदेशले कारबाहीका लागि सिफारिस गरेको छ । संगठनका सदस्यहरुलाई गाली-गलौज गरेको तथा पत्रकार महासंघको निर्वाचनमा आफुखुसी टिकट वितरण गरेको जस्ता आरोपमा युनियनका अध्यक्ष सत्य प्रसाद श्रेष्ठले कार्यवाहीको सिफारिस गरेका हुन् ।
निज यादवलाई प्रेस युनियनका अग्रजहरुको सल्लाह बिना संगठनको नाममा अवैध पैसा असुल्ने गरेको र अनुशासन उल्लघंन गरेको आरोप छ । उनलाई संगठनको छैठौ संशोधित बिधान २०७९ को दफा २९ को (च) बमोजिम कार्यवाहीको सिफारिस गरिएको बताइएको छ । यादवले नेपाल प्रेस युनियनमा पटक-पटक अनुसाशनको उलंग्घन गर्दै युनियनको ऐन, नियम, बिधी र बिधानलाई समेत लत्याउँदै आफनो स्वार्थ सिद्ध गर्ने गरि नागरिकता नभएका संदिप यादवलाई नेपाल प्रेस युनियनको सदस्यता दिएको समेत आरोप छ ।
बिगत ६ बर्षदेखि पत्रकारिता छोडी बित्तिय संस्थामा काम गरीरहेका रबिन्द्र प्रसाद साहलाई नेपाल प्रेस युनियनको जिल्ला कार्य समितिमा राखी सदस्यता शुद्धिकरण अभियानमा समेत महासंघमा आफ्नो स्वार्थ सिद्ध गर्नका लागि सदस्य कायम गराउनु जस्ता गतिविधी गर्दै आएको बताइएको छ ।
आरोपी यादवले रवि लामिछाने नेतृत्वको रास्वपा पार्टीका सदस्य तथा लामीछानेका स्वकिय सचिव समेत रहेका अविनास अचार्यलाई प्रेस युनियनमा कायम राखी रास्वपा पार्टीका हरेक गतिविधीमा प्रत्यक्ष संलग्न भई प्रचारप्रसार गरेको आरोप छ । “यति गर्दा समेत संगठनले कुनै कार्यवाही गरेको थिएन । सच्चिएर आउनका लागि पटक-पटक चेतावनी दिँदा समेत संगठनको हित बिपरित काम गरेको हुँदा कार्यवाहीका लागि केन्द्रीय समिति, अनुसांसन विभागलाई सिफारिस गरेका छौँ”, युनियनका अध्यक्ष सत्य प्रसाद श्रेष्ठले बताए ।
उनले भने, “भर्खरै सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा केन्द्रदेखि जिल्लासम्म नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको सहमतिलाई संस्थाको हित भन्दा ब्यक्तिगत स्वार्थ सिद्ध हुने गरि सो सहमितलाई भंग गरि प्रेस युनियनको भागमा परेको कोषाअध्यक्ष पद प्रेस सेन्टरसंग सम्झौता गरि कोषाअध्यक्ष पद सेन्टरका अध्यक्ष रंजन यादसंग बेची दिएको पाइयो । यो संगठनको हित बिपरित छ ।”
यद्यपी, महासंघको निर्वाचन सम्पन्न भएको करिब २ साता पछि नेपाल प्रेस युनियनको ब्यानरमा आफ्नै अध्यक्षतामा महासंघका निर्वाचित केन्द्रीय सदस्य सिकेन्द्र पासवान, बारा शाखा कि उपाअध्यक्ष प्रियन्का दासलाई दोसल्ला ओढाई सम्मान गरेको समेत आरोप छ ।