सोम धितालको घरमा जुवाखाल, श्रीमतीसहित ४ जना पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपाल विज्ञापन संघको पूर्वअध्यक्ष तथा मिडिया हब नामक विज्ञापन एजेन्सीका मालिक सोम प्रसाद धितालको घरमा अवैध जुवा खेल हुन गरेको पाइएको छ । उनको घरबाट धितालकी श्रीमती सरिता धितालसहित ५ जनालाई प्रहरीले पक्राउ गरि मुद्दा चलाएको छ । तर, अभियुक्तहरु रातारात छुट्न सफल भएका छन् ।

गत शुक्रबार ९ गते काठमाडौं ४ स्थित चप्पलकारखाना नजिकै रहेको धितालको घरमा जुवा खाल चल्ने गरेको थाहा पाएपछि प्रहरीले छापा मारेर ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङको सांकोष घर भएका रमेश प्रसाद धमला, सरिता धिताल,प्रकृति थापा, रविन्द्र खड्का र विजया पाण्डे रहेका छन् । सामान्यतया अभियुक्त पक्राउ गरेपछि २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान प्रतिवेदन बुझाउने गरिएको भएपनि कांग्रेसको गृहमन्त्री र सरकार भएका कारण उनीहरुलाई उन्मुक्ति दिई सोही तत्कालै छाडिएको पाइएको छ । त्यतिमात्रै होइन २ दिनमै सरकारी वकिल कार्यालयमा अभियोग पत्र समेत बुझाइएको छ । उनीहरुको साथबाट १ लाख ३६ हजार रुपैयाँसहित तास समेत बरामद भएको थियो ।

यस विषयमा प्रतिक्रिया लिन विज्ञापन संघका पूर्वअध्यक्ष धिताललाई सम्पर्क गर्दा उनले मुद्दा मिलिसकेको र परिवारका मान्छेहरु बसेर रमाइलो गरेको बेला प्रहरीले पक्राउ गरेको दाबी गरे । उनले पक्राउ परेका सबै व्यक्तिहरु आफ्नो आफन्त र नातेदार रहेको समेत दाबी गरे । यद्धपी पक्राउ परेका धादिङ सांकोषका रमेश प्रसाद धमलाले सम्पत्ति हारजित हुने गरि म्यारिज तास खेल्ने सल्लाह अनुसार नै आफूले चार थान तासबुक लिएर त्यहाँ पुगेको बताएका छन् । एक दाना सिमित बराबर ५ रुपैयाँ कायम हुने गरि नगद बाजी थापी ५ रुपैयाँ प्वाइन्ट म्यारिज जुवातास खेलेको बयान उनले प्रहरीलाई दिएका छन् । प्रहरीले रविन्द्र खड्काको साथबाट ३४ हजार ९ सय रुपैयाँ, विजया श्रेष्ठको साथबाट ६५ हजार रुपेयाँ, स्नेहा भन्ने प्रकृति थापाको साथबाट १६ हजार रुपैयाँ र धमलाको साथबाट २० हजार रुपैयाँ बरामद गरेको थियो ।

चण्डोलस्थित धितालको घरको पहिलो तलामा जुवातास अड्डा चलिरहेपनि प्रहरीले सोम प्रसाद धिताललाई भने पक्राउ गरेको छैन ।

एकै अभियुक्त विरुद्ध विगतमा दुई पटक फैसला

पक्राउ परेका उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ (१) (२) देहाय क बमोजिमको कसुरमा सजाय माग गरि अभियोग पत्र पेश भएको थियो । धमलाको हकमा भने २०७९ असार १४ गते पनि जुवा मुद्दामै अभियोग दाबी पुष्टि भएको कारण ३० हजार रुपैयाँ जरिवाना भएको र दोस्रो पटक २०८० चैत्र ७ गते पुन २० हजार रुपैयाँ फैसला भएको अभियोग पत्रमा उल्लेख छ ।

पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई ३ महिनासम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । त्यस्तै दोस्रो पटक देखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाासम्म जरिवना हुने र त्यसपछिको पटकैपिच्छे तीन महिनासम्म कैद हुने व्यवस्था छ । धमलाको हकमा भने १ वर्षसम्म कैद सजाय माग सरकारी वकिल कार्यालयले अदालत समक्ष गरेको छ ।