सडक निर्माण कार्य समयमै सम्पन्न गर्न ‘नागरिक निगरानी’ समूह गठन !

Rita Budhathoki  

बुटबल । निर्माणधिन बुटबल–चन्द्रौटा–गोरुसिङ्गे सडक खण्ड अन्तर्गत सडक बिस्तारको काम सुरु भएसंगै ‘नागरिक निगरानी’ समुह गठन गरिएको छ । बुटवल–नारायणघाट सडक जस्तो अलपत्र र अस्तव्यस्तता नहोस् भन्दै नागरिक समाजबाट आवश्यक सहयोग र समन्वयका लागि निगरानी समूह गठन गरिएको हो ।

कपिलवस्तुस्थित वाणगङ्गा नगरपालिकाको सभाहलमा वृहद् भेला गरि छविलाल पाठकको संयोजकत्वमा १७ सदस्यीय ‘निगरानी’ समूह गठन गरिएको समाजसेवी ऋषि आजादले जानकारी दिए । उनले भने, ‘बुटबल नारायणगढ सडक निर्माणमा कैयौँ बेथिति देख्यौँ । अहिलेपनि त्यो सडक अस्तब्यस्त र अलपत्र अवस्थामा छ । नागरिकले निकै शास्ती ब्योहोनु परेको छ । यहाँको सडक निर्माणमा पनि त्यस्तो नहोस भनेर हामीले सबै पक्षलाई सचेत बनाउँदै समयमै काम सम्पन्न गर्नका लागि समन्व्य गर्नेछौँ ।’

निर्माण कार्य सुरु भइसकेको अवस्थामा सडक बिभाग, ठेकेदार, निर्माण कम्पनी, जन प्रतिनिधि र नागरिकसंग प्रत्यक्ष समन्व्य गरी ब्यवस्थित ढंगले समयमै काम सम्पन्न गर्न का निगरानी समुह बनाउनु परेको उनको भनाई छ ।
निगरानी समूहले पर्यावरण–मैत्री सडक, धूलोरहित वातावरण निर्माण, खानेपानी, विद्युत लगायतका संरचना फेरबदल गर्दा ध्यान दिनुपर्ने, सुुरुमा सडकको पिचभाग भत्काउन नहुने, पहिला दुबै साइडको काम भ्याउने, झगडा परेमा सरोकारवालाबीच सहजीकरण गरी मिलाउन सहयोग गर्ने, क्षतिपूर्ति प्रदानको रेखदेख लगायतका काममा ध्यान दिने बताइएको छ ।

समितिलाई आचारसंहिता, कार्यविधि निर्माण, सम्झौता पत्र र विस्तृत परियोजना पत्रको अध्ययन, विवाद समाधान, समन्वय र सहयोगमा ध्यान दिन सरोकारवालाबीच अन्तरक्रिया लगायतका काम गर्न सुझाइएको छ । निगरानी समुहमा वातावरणविद, उपभोक्ता संरक्षण र हित, व्यवसायी, पत्रकार उद्योगी, पूर्व कर्मचारी, इन्जिनियर, निर्माण व्यवसायी, राजनीतिक दल लगायतको सहभागिता रहेको छ ।

बुटवलदेखि कपिलबस्तु चन्द्रौंटासम्मको ६९ किलो मिटर सडक बिस्तारका लागि चिनियाँ निर्माण कम्पनी ‘सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन’ र चितवनको ‘आशिष निर्माण सेवा जेभी’संग ठेक्का सम्झौता भएको आयोजना प्रमुख कुशलता न्यौपानेले जानकारी दिइन् । १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँ लागतमा काम सम्पन्न गर्ने गरी गत असार १३ गते ठेक्का सम्झौता भएको र सम्झौता भएको मितिले तीन वर्षभित्र सडक निर्माण सम्पन्न गरिने उनले बताइन् ।

आयोजना प्रमुख न्यौपानेका अनुसार सडक विस्तार भएपछि सहरी क्षेत्रमा ५० मिटर, सहरोन्मुख क्षेत्रमा ३७ दशमलब ४ मिटर र जंगल क्षेत्रमा २४ मिटर चौडा कायम हुनेछ । त्यसका लागि निर्माण व्यवसायीहरुले सडक क्षेत्रमा आवश्यक तयारीका काम सुरु गरिसकेका छन् । यति बेला सडक क्षेत्रमा पर्ने नदि र खोलामा पुल निर्माण कार्य तीब्र पारिएको छ ।
निर्माणमा निगरानी, समन्वय र चासो भएको नागरिक निगरानी समूह गठन हुनु नेपालकै पहिलो घटना भएको भन्दै स्थानीयद्वारा त्यसको स्वागत गरिएको छ ।