धादिङ २ का उम्मेद्वार धमलाका कार्यकर्ताद्वारा दियोपोस्टकर्मीलाई धम्की, कार्यालयको खोजी (अडियोसहित)

दियोपोस्ट संवाददाता  

धादिङ । नेपाली कांग्रेसबाट धादिङ क्षेत्र नम्बर २ का उम्मेदवार रमेश प्रसाद धमलाका कार्यकर्ताले दियोपोस्टकर्मीलाई धम्की दिएका छन् । धमलाको विगत र विवादास्पद धन्दाबारे दियोपोस्टले खोजमूलक समाचार प्रकाशन गरेपछि पर्यटन क्षेत्रका एक व्यावसायीले दियोपोस्टकर्मीलाई फोन गरि कार्यालयको सोधीखोजी गर्न थालेका छन् ।

आफूलाई धादिङ क्षेत्र नम्बर २ को मतदाता र नेपाली कांग्रेसका उम्मेदवार धमलाको कार्यकर्ता बताउने रविन बुर्लाकोटी नाम गरेका व्यक्तिले यस्तो धम्की दिएका हुन् । शनिबार विहानै दियोपोस्टकर्मीको मोबाइल नम्बरमा ९८६५१७४…१६ नम्बरबाट फोन गर्दै बुर्लाकोटीले आफूले बिबिसीबाट प्रकाशित समाचारको समेत समिक्षा गर्दा ‘हिनामिना भेटिएको र रास्वपाद्वारा बिबिसी र दियोपोस्टलाई समेत परिचालन गरिएको आरोप लगाएका हुन् ।
ठमेलस्थित हिमालयन एक्सप्लोर लाइन नामक कम्पनिका संचालक समेत रहेका बुर्लाकोटीले आफूले धमलालाई मत हाल्न तयार भएर बसेको बेला दियोपोस्टले समाचार प्रकाशन गरेको र उक्त समाचारको स्रोत दिनुपर्ने माग समेत गरेका छन् । ‘म धादिङ क्षेत्र नम्बर २ को मतदाता रविन बुर्लाकोटी हुँ । तपाईंको पोस्टमा रमेश धमला यस्तो हो भनेर निकाल्नु भएको रहेछ ८ घण्टा अगाडी । जुन मान्छेलाई भोट हाल्छु भनेर बसेको थिएँ । मलाई उहाँ भ्रष्टाचारी हो भन्ने प्रमाण के के छ ? मैले उहाँलाई भोट हाल्छु है फेरी’ उनले भनेका छन् ।

दियोपोस्टकर्मीले तपाईं सचेत मतदाता हुनुहुँदो रहेछ दियोपोस्ट डटकममा प्रशारित भिडियो हेर्नुहोला त्यहाँ सबै विवरण उल्लेख भएका छन् भनेर अनुरोध गरेको थियो ।

 

 

‘मलाई ह्वाट्स एपमा प्रमाण पेश गर्नुस् । त्यो कहाँबाट आयो त्यो सबै चाहियो । अस्ति बिबिसीबाट आएको समाचार पनि हिनामिनासहितको छ । मैले बिबिसीको पनि प्रमाण पाइसकेँ । बिबिसीको डकुमेन्ट्री निकाल्नेहरु मध्ये २ जना संलग्नहरु किन आएको रहेछ भन्ने मैले थाहा पाएँ,’ उनको दाबी छ,‘उनीहरु रास्वपाबाट परिचालित छन् । प्रमाण पनि भेटाएको छु । तपाइँलाई चाहिन्छ भने म पठाइदिन्छु ।’

दियोपोस्टकर्मीले बिबिसीकै प्रमाण त अन्तर्राष्ट्रिय समाचार हुन्छ पठाइदिनुस् न प्रमाण भनेपछि उनले भने,‘तपाईंको त फलोअर्स पनि ३.३ के मात्रै रहेछ ।’
दियोपोपोस्टकर्मीले फलोअर्स किन जरुरी छ र भनेर प्रश्न गरेपछि उनले समाचार सत्य भएन भने कहाँ आएर भेटौँ भन्दै धम्की दिन थालेका थिए । ‘तपाइँलाई मैले कहाँ आएर भेटौँ । तपाईंलाई मैले कहाँ भेट्न सक्छु ? म पार्टीबाट परिचालित हो । मलाई पोस्ट देखेर चित्त बुझेन । पहिला पनि यस्तै पोस्ट निकाल्नु भएको रहेछ । तपाईंको ३ सय वटा पोस्टमा एउटा पोस्ट मात्रै सत्य हुँदो रहेछ ।’

उनलाई दियोपोस्टले उठाएको विषयमा सीआइबी लगायत निकायबाट अनुसन्धान भएको र मुद्दा चलाएको विषय समेत जानकारी गराएपछि तपाईं कुन बाट परिचालित हुनुहुन्छ भन्दै फेरी प्रश्न गर्न पुगे ।

उनले अफिस कहाँ छ भन्दै पुन प्रश्न गर्न थाले । ‘तपाईंको अफिस कहाँ छ ? उनले यस्तो प्रश्न गरेपछि दियोपोस्टकर्मीले,‘हाम्रो कार्यालय बनाउने हैसियत नभएको र सानो झुपडीमा बसेर समाचार लेखिरहेको बताएको थियो ।

उनले अन्तिममा,‘तपाईं अफिस नै बनाउन नसक्ने हैसियत भएको पत्रकार रहेछ ।’ भन्दै फोन काटिदिए ।

 

अडियो सुन्नुहोस्:

 

सिफारिस