काठमाडौं । मध्यपूर्वी क्षेत्रको हवाई प्रतिबन्धका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुँदै आएका सातवटा अन्तर्राष्ट्रिय गन्तव्यका उडान रद्द भएका छन्।
सारजहा, दोहा, दुबई, कुबेत सिटी, अबुधाबी, कतार तथा दमामका लागि निर्धारित उडानहरू सम्बन्धित गन्तव्यमा लगाइएको हवाई प्रतिबन्धका कारण आज दिउँसो र रातिका सबै उडान रद्द गरिएको विमानस्थलले जनाएको छ।
विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार प्रभावित क्षेत्रको हवाई मार्ग बन्द गरिएकाले सुरक्षा तथा सञ्चालन व्यवस्थापनलाई मध्यनजर गर्दै उडानहरू स्थगित गरिएको हो। उनले यात्रुहरूलाई विमानस्थल आउनुअघि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गरी आफ्नो उडानको अवस्थाबारे जानकारी लिन अनुरोध गरेका छन्।
यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेको सूचनामा हवाई क्षेत्र प्रतिबन्धका कारण केही अन्तर्राष्ट्रिय उडानहरू ढिलाइ, पुनःतालिका वा रद्द हुन सक्ने उल्लेख गरिएको थियो।
विमानस्थल प्रशासनले यात्रु व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन एयरलाइन्स तथा सम्बन्धित निकायहरूसँग नजिकबाट समन्वय भइरहेको जनाएको छ।
