काठमाडौँ, माघ १९ । मालपोत कार्यालय महोत्तरीका नासु १० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् । कार्यालयका नायब सुब्बा ढकबहादुर कार्कीलाई सेवाग्राहीबाट लिएको १० हजार रुपैयाँ घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले शनिवार पक्राउ गरेको हो ।
शनिवार दिउँसो महोत्तरीको गौशाला नगरपालिका १ रामनगरबाट उनलाई घुसको रकम सहित रंगेहात पक्राउ गरेको आयोगले जनाएको छ । अप्ताली जग्गा नामसारीका लागि मुचुल्का तयार गर्न बापत नासु कार्कीले एक सेवाग्राहीबाट १० हजार रुपैयाँ लिएको र आयोगले पूर्व सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो । उनलाई अख्तियारले आफ्नो नियन्त्रणमा लिई भ्रष्टाचार निवारण ऐन अन्तर्गत कार्वाही प्रक्रिया अगाडी बढाउने जनाएको छ । पक्राउ परेका नासु कार्की उदयपुर जिल्लाको त्रियुगा नगरपालिका १७ का स्थायी बासिन्दा हुन् ।