संसदमा गगनको गर्जन – ‘प्रतिपक्ष कस्तो हुन्छ हामी देखाउँछौँ, आश्चर्य मान्ने पालो सरकारकाे’ (पुर्णपाठ)

दियो पोस्ट  

काठमाडौँ, माघ २० । प्रतिनिधि सभाको वैठक शुरु हुन लागेको थियो । राष्ट्रिय गान बजिसकेपछि सभामुखले सदन सञ्चालन गर्न लागे । तर, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरु विरोध जनाउँदै उठ्न थाले । प्रतिपक्षबाट युवा नेता गगनकुमार थापालाई बोल्न दिइयो । बोल्दै गर्दा सरकारको विरुद्धमा यसरी प्रस्तुत भए :

२ तिहाइे ले सुतेको डाक्टरलाई उठाइदियो । प्रधानमन्त्री प्रति सुतेको विश्वास कहिले उठाउने ? ढलेको विश्वास कसले उठाइदिने ? प्रधानमन्त्रीको इमानमा डढेलो लाग्यो पानी कसले हालिदिने ? प्रम भन्नुहुन्छ,‘ हाम्रो काम देखेर संसार आश्चर्यचकित छ ।’ तर त्यस्तो छैन । जनता आश्चर्यचकित छैन जनता आक्रोशित छन् ।

नेपाल सरकारलाई बधाई छ । एउटा जोगी डाक्टरले सरकारसंग निहु खोज्यो । त्यो पनि दुई तिहाईको यस्तो बलियो सरकारसंग । सरकारले देखाइदियो । सरकारलाई बधाई छ । सरकारको यस्तो अपार सफलतामा सरकार बनाउने सांसदहरु त खुशी नहुने कुरै भएन । डा. केसीले ५० लाखमा मेडिकल शिक्षा पढ्न पाउने व्यवस्था ल्याउन सफल भए । डा. केसीलाई देखाइदिनुभएकोमा सरकारलाई बधाई छ । कमरेड मनमोहनको लागि दुई तिहाई देख्न पाइएन तर कमरेड मार्सिमोहनको लागि दुई तिहाई देख्न पाइयो सरकारलाई बधाई छ । सरकार बनाउने पार्टीलाई पनि वधाई छ ।

अर्थतन्त्र धराशायी बन्दै छ । भएका उद्योगधन्दा बन्द हुने अवस्थामा छ । नयाँ उद्योग खोल्न कोही चाहिरहेका छैनन् । उद्योगी व्यापारीहरु पहिलो पटक आन्दोलनमा छन् । ब्याजदर घटाइदेउ प्रतिस्पर्धा गर्न सकिएन भनेर कराइरहेका छन् । अनि प्रधानमन्त्री भन्नुहुन्छ, संसारको पैसा धोक्रोका धोक्रो नेपाल आउँछ ।’ सरकार नेपालमा लगानीका निम्ति ठुलो महोत्सव गर्दै छ तर यो भन्दा पहिला लगानी गर्न आउनेहरु टाप ठोकिसके किन ?

पहिलो पटक प्रधानमन्त्रीबाट गलत तथ्यांक प्रस्तुत गर्ने काम मात्र होइन तथ्यांक तोडमोड गरेर प्रस्तुत गर्न थालिएको छ । अन्तराष्ट्रिय प्रतिवेदन निस्कन्छ, द्वेध विजनेश रिपोर्ट निस्कन्छ । सरकारले नेपालभित्र व्यवसायको वातावरण कसरी सुधार गर्ने भन्दैन । सिधै धम्काउँछ । तेरो रिपोर्ट च्यात्दिन्छु भनेर । ट्रान्सपरेन्सी इन्टरनेशनलले ‘तेरो देशमा भ्रष्टाचार बढ्यो ’ भन्छ । सरकार भन्छ ‘ट्रान्सपरेन्सी इन्टरनेशनल आफै कुनै भरपर्दो संस्था होइन ।’

प्रधानमन्त्री भन्नुहुन्छ ‘म भ्रष्टाचारीको अनुहार हेर्दिन’ । दायाँ भ्रष्टाचारी, वायाँ भ्रष्टाचारी , विमान किन्दा भ्रष्टाचार, जलविद्युतमा भ्रष्टाचार, वैदेशिक रोजगारमा भ्रष्टाचार, दुरसंचारमा भ्रष्टाचार । यत्रतत्र भ्रष्टाचारी राखेर प्रधानमन्त्रीले म भ्रष्टाचारीको अनुहार हेर्दिन भन्दै गर्दा मलाई डर लाग्न थालेको छ, प्रधानमन्त्रीले ऐना हेर्न पनि बन्द गर्नुपर्ने अवस्था आउन सक्छ ।

अन्तराष्ट्रिय सम्वन्धलाई बढाउनुपर्ने, सुमधुर पार्नुपर्ने ठाउँमा तुक न ताकसँग भेनेजुएलाको बारेमा बोलेर नयाँ संकट नेपालको लागि निम्त्याएको छ । यो सुनेर जनता दिक्क भएका छन् । आक्रोशीत भएका छन् ।

देशका सम्पुर्ण जनता चाहन्छन्, प्रधानमन्त्री ज्यूले एकपटक आफ्नो अनुहार ऐनामा हेर्नुहोस् । त्यो अनुहारमा दागैदाग लागेको छ । त्यो दागलाई मेटाउनुहुोस् । हाम्रो प्रधानमन्त्री सफा देखिनुहोस् । हाम्रो प्रधानमन्त्री उज्यालो देखिनुहोस् भन्ने हाम्रो चाहना छ । जनताको चाहना छ । तर प्रधानमन्त्री उल्टै आक्षेप लगाउनुहुन्छ, ऐनाकै अगाडी उभ्भिएर दाग देख्दै गर्दा प्रधानमन्त्री भन्नुहुन्छ, ‘ऐनामा भएको दाग मेटा.. किनकी मेरो अुनहारमा दाग लाग्नै सक्दैन, सत्य मै हुँ, ब्रम्हा मै हुँ, मेरो अनुहारमा दाग हुनसक्छ ? पक्कै यो ऐनाको फोहोर हुनुपर्छ । यो देखेर जनता साँच्चै आक्रोशीत भएका छन् । जनतामा भएको यो आक्रोेशलाई सरकारसामु पुर्याउने जिम्मेवारी हाम्रो हो । जनताको आक्रोशलाई वाणी दिने काम हाम्रो हो ।

एकपछि अर्को गर्दै निम्त्याएको काण्ड र घटनाले हामीलाई डर लाग्न थालेको छ, हामीलाई चिन्ता लाग्न थालेको छ । आक्रोश प्रधानमन्त्री, सरकार हुदैहुँदै भर्खर मात्र हामीले ल्याएको संघिय लोकतान्त्रिक गणतन्त्रमाथि नतेर्सियोस् । सरकारले सिर्जना गरेको निराशाको आगोमा अरु कसैले रोटी नसेकोस् । जात, धर्मको नाममा झण्डा बोकेर कोही नआओस् । हाम्रो चिन्ता यसमा छ । हामी व्यवस्था जोगाउन चाहन्छौँ । यो दिगो होस् भन्न चाहन्छौँ । यो संविधानको सार्थक कार्यन्वयन चाहन्छौँ ।

हामीले पटकपटक सदन अवरुद्ध गर्योँ । दूइवटा अस्पतालको नामलाई लिएर उठ्यौँ । अस्पतालको नाममा उठ्दै गर्दा कतिपय साथिहरुले यस्तो जाबो नामको विषयमा सदन अवरुद्ध भन्ने जस्ता प्रश्न गरे । हामीलाई पनि राम्रो संग थाहा छ , हाम्रो नेता गिरिजाप्रसाद कोइरालाको नाम कसैले अस्पताल अगाडीबाट मेट्न सक्ला तर शान्ती प्रक्रियामा गरेको हस्ताक्षर मेट्ने आँट छ ? हाम्रो नेता सुशील कोइरालाको नाम अस्पतालको अगाडीबाट मेट्न सक्ला तर उनको पालामा आएको संविधान मेट्ने हिम्मत छ कसैको ? त्यसैले प्रश्न दुईवटा नेताको नामको अस्पतालको होईन प्रश्न सरकारको नियतको हो । सरकारको प्राथमिकता र सोचको हो ।

सरकार यति हैसियत भएको प्रतिपक्षको त निषेध गरि अगाडी जान चाहन्छ, सरकार हाम्रो अस्तित्वलाई अस्वीकार गरेर जान चाहन्छ भने सरकार अलोकतान्त्रिक हुन्छ । गर्नुपनेै काम छोडेर गर्न नहुने काम गर्छ । सरकार जहाँ बोल्नुपर्ने हो त्यहाँ बोल्दैन, जहाँ नबोल्नुपर्ने हो त्यहाँ बोल्छ । सरकार गल्ती गर्छ भने प्रतिपक्ष त्यसै बस्दैन । हामीले यही ठाउँबाट सरकारलाई वाध्य गराएका छौँ, सरकारसंग लडेका छौँ । प्रतिपक्षसंग छलछाल गरि ल्याइएको विधेयकलाई समेत सच्याउन वाध्य गराउने छौँ ।

हामीलाई आफ्नो जिम्मेवारी थाहा छ त्यो जिम्मेवारी निर्वाह गर्दैगर्दा सदनमा हिँजो हामी उठ्यौँ, विरोध गर्यौँ भोली आवश्यकता परेको बेला फेरी गर्छौँ । जिम्मेवार भएर प्रतिपक्षको भुमिका निर्वाह गर्दै गर्दा अनन्तकालसम्म संसद अवरुद्ध गर्नुहुन्न भन्ने कुरा हामीलाइ थाहा छ । सदन चाँडै खुलोस् भन्ने कुराको चिन्ता सरकारलाई छैन । सदन चल्छ तर हाम्रो सम्वन्ध हिजोको जस्तो हुँदैन । हामीसँग जस्तो व्यवहार गरिएको छ त्यो व्यवहार विर्सने छैनौँ । हामी सम्झीरहने छौँ, मनमा लिइरहने छौँ र त्यहीअनुरुपका व्यवहार गरिरहने छौँ । सरकारलाई अब ठिक ठाउँमा ल्याउँछौँ, कहाँ मद्दत गर्नुपर्ने त्यहाँ गछौँ, जहाँ विरोध गर्नुपर्ने हो त्यहाँ पनि गर्छौँ । प्रतिपक्ष देखिएन भनेको होइन सरकारले ? प्रतिपक्ष सुनिएन भनेको होइन सरकारले ? भोलीदेखि सडकबाट पनि सदनबाट पनि सरकारलाई प्रतिपक्ष कहाँ छ भनि देखाउँछौँ अब सरकारलाई आश्चर्यचकित पार्ने काम हाम्रो । सरकारलाई फेरिपनि बधाई छ ।

TATA ADD

सिफारिस