एकता गर्न बनेको कार्यदललाई मंगलबार प्रतिवेदन बुझाउन नेकपाको निर्देशन

Diyo post  

काठमाडौँ,माघ २१ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले पार्टीको एकीकरणसम्बन्धि सुझाव दिन गठित कार्यदललाई मंगलबार (भोली) आफ्नो प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

सचिवालयको सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टीको एकीकरणसम्बन्धि सुझाव दिन गठित कार्य दलको कार्य प्रगति विवरणसहितको प्रतिवेदन मंगलबार सचिवालयमा बुझाउन निर्देशन दिएको हो । पुस १२ गते सम्पन्न पार्टी स्थायी समितिको बैठकले पार्टीको एकीकरणसम्बन्धि थाँति काम पूरा हुने गरी सुझावसहितको प्रतिवेदन बुझाउन पार्टीका सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेल रहनु भएको नौं सदस्यीय कार्य दल गठन गरेको थियो । सोही कार्य दललाई आफ्नो प्रतिवेदन मंगलबारसम्म बुझाउन निर्देशन दिइएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । बैठकले सो प्रतिवेदनले दिएको सुझावको आधारमा पार्टीको सांगठानिक एकीकरणसम्बन्धि आवश्यक निर्णय सचिवालय बैठकले गर्ने निर्णय पनि गरेको छ । सचिवालय बैठकले गर्ने सो सम्बन्धि निर्णय पार्टी स्थायी समिति बैठकले अनुमोदन गर्ने पनि प्रवक्ता श्रेष्ठले बताए ।

पुस महिना भित्र पार्टीको एकीकरण सम्बन्धि थाति काम पूरा हुने गरी सुझाव दिन गठित कार्य दल भित्रै विवाद भएपछि सचिवालय बैठकले सो सम्बन्धमा आफै निर्णय लिने गरी कार्य दललाई हालसम्मको कामको प्रगति विवरणसहितको प्रतिवेदन बुझाउन निर्देशन दिएको हो ।

सचिवालय बैठकले पार्टी स्थायी समिति बैठकले दिएको निर्देशन तथा पार्टीको आवश्यक्ता अनुसार पार्टीको राजनीतिक प्रतिवेदन तत्काल प्रकाशित गर्ने निर्णय पनि गरेको छ । प्रवक्ता श्रेष्ठले पार्टी स्थायी समिति बैठकले दिएको सुझावलाई समेत समेटेर अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गर्नु भएको राजनीतिक प्रतिवेदनलाई पनि छिट्टै अन्तिम रुप दिने निर्णय गरिएको समेत बताए ।

सम्बन्धित खबर