काठमाडौँ, माघ २१ । टेलिकम प्रदायक कम्पनी एनसेलले ७२ अर्ब रुपैँया कर छलेको विरोधमा विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले कैलालीमा प्रदर्शन गरेको छ । पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को निर्देशनपश्चात अखिल क्रान्तिकारीले एनसेल विरुद्ध देशव्यापी प्रदर्शन गरिरहेको छ ।
आइतबारको विरोध सभाबाट अखिल क्रान्तिकारीका केन्द्रिय कोषाध्यक्ष नरेन्द्र विकलाई पक्राउ गरिएको प्रति समेत विराध जनाइएको छ । उनलाई तत्काल रिहा गर्नुपर्ने अखिल क्रान्तिकारीको माग रहेको छ । विरोध सभालाई सम्वोधन गर्दै केन्द्रिय सचिवालय सदस्य एवं सेती ब्युरो संयोजक लोकेन्द्र एसकेले एनसेलले तत्काल छलेको कर तिर्नुपर्ने माग गरे ।
कार्यक्रममा बोल्ने सबै बक्ताहरुले देशका आम नागरिकलाई सामान्य कुरामा कर लगाइरहँदा त्यत्ति धेरै रकममा सरकारले कुनै चासो नदेखाएको भन्दै सरकारको ध्यानाकर्षण समेत गराएका छन् । अरबौँ रुपैयाँ देशबाट त्यत्तिकै बाहिर जानुमा सरकारको नियतमाथि समेत प्रश्न चिन्ह खडा हुने भन्दै विद्यार्थी नेताहरुले तत्काल एनसेललाई करको दायरभित्र ल्याउनको लागि जोडदार माग राखेका छन् ।
विप्लव नेतृत्वको नेकपाले यसअघि नै एनसेल करछलीविरुद्ध बलियो भएर लागिपर्ने घोषणा गरिसकेको छ । एनसेललाई तत्काल कर तिर्न आह्वान गर्दै कर नतिरे देशभर भएका एनसेलको टावर ध्वस्त बनाउने चेतावनी नेकपाले दिइसकेको छ ।