काठमाडौं, २१ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भृकुटि भण्डप क्षेत्रमा रहेको करिब ६० रोपनी जग्गा भाडामा दिँदा तत्कालिन समाज कल्याण मन्त्री सहित १४ जना अधिकारीले भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगमा परेको उजुरीका आधारमा तत्कालिन महिला, बालवालिका तथा समाज कल्याण मन्त्री एवं समाज कल्याण परिषद्का तत्कालिन अध्यक्ष बद्री प्रसाद न्यौपाने, समाज कल्याण परिषद्का तत्कालिन उपाध्यक्ष प्रमोद मेहता, समाज कल्याण परिषद्का तत्कालिन कोषाध्यक्ष कुञ्जत बिहारी प्रसाद चौधरी, समाज कल्याण परिषद्का तत्कालिन सदस्य हरि न्यौपाने, समाज कल्याण परिषद्का तत्कालिन सदस्य मोहनराज शर्मा, समाज कल्याण परिषद्का तत्कालिन सदस्य मदन कुमार लाल कर्ण र समाज कल्याण परिषद्का तत्कालिन सदस्य(सचिव ई. रविन्द्र कुमार लगायत १४ जना अधिकारीले भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो ।
उनीहरुले पूर्व मन्त्री टेक बहादुर गुरुङको वारेश कर्ता रविन्द्र गुरुङलाई २०६९ भदौ २० गते फनपार्कको ६० रोपनी जग्गा जम्मा ५ लाख ५५ हजारमा करसहित १५ वर्षका लागि भाडामा दिने गरेको अख्तियारले जनाएको छ ।
समाजकल्याण परिषदलाई ३१ करोड वाउन्न लाख सत्र हजार छ सय पचहत्तर रुपैया विस पैसा घाटामा पारेको भन्दै अख्तियारले विगो दावी सहित मुद्दा दायर गरेको हो ।
पूर्व मन्त्री टेक बहादुर गुरुङबाट अख्तियारले ३१ करोड वाउन्न लाख सत्र हजार छ सय पचहत्तर रुपैया विस पैसा विगो दावी गरेको छ ।
पूर्व मन्त्री बद्रि प्रसाद न्यौपानेलाई पनि सोही रकम विगो दाबी गरेको छ ।
बद्री प्रसाद न्यौपाने चुरेभावर राष्ट्रिय एकता पार्टीका अध्यक्ष समेत रहेका व्यक्ति हुन् । उनी पटक पटक मन्त्री बनेका थिए ।
यता नेपाली कांग्रेसका नेता समेत रहेका टेक बहादुर गुरुङ सुशील कोइराला नेतृत्वको सरकारमा श्रम तथा रोजगार मन्त्री थिए ।