काठमाडौं, माघ २२ । समृद्ध नेपालुको लक्ष्य लिएको दुई तिहाइ बहुमतको सरकारले हरेक दिन बढिरहेको व्यापार घाटा नियन्त्रण गर्न नयाँ नीति लिनु पर्ने सुझाव विज्ञहरूले दिएका छन्।
अर्थशास्त्रीहरूले निश्चित विलासी वस्तुको आयातमै रोक लगाउन ढिलो गर्न नहुने बताएका छन्।
चालू आर्थिक वर्षको पाँच महिनामा व्यापार घाटा साढे पाँच खर्ब रुपैयाँ नाघेपछि उनीहरुको त्यस्तो सुझाव दिएका हुन्।
निर्यातको तुलनामा आयातको आकार निकै बढ्दै गएपछि राष्ट्र ब्याङ्कले विदेशी मुद्रा सटही लगायतमा कडाइ गर्न थालेको छ।
कसरी बढ्दैछ व्यापार घाटा ?
अघिल्लो आर्थिक वर्षको पहिलो पाँच महिनामा ४ खर्ब १८ अर्ब रुपैयाँ व्यापार घाटा भएको थियो। यस वर्षको सोहि अवधिमा त्यो बढेर ५ खर्ब ६९ अर्ब पुगेको छ।
छिमेकी मुलुकले विलासी वस्तुमा रोक लगाएको उदाहरण दिँदै नेपालले पनि त्यसको अनुसरण गर्नुपर्ने बताउँछन् अर्थशास्त्री केशव आचार्य।
नेपाल राष्ट्र ब्याङ्कका अनुसार पेट्रोलियम पदार्थ र मोटर गाडीदेखि दैनिक उपभोग्य चामलको आयातसम्म बढिरहेको छ।
पेट्रोलियम पदार्थको आयात गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा यो आवको पाँच महिनामा २५ अर्ब रुपैयाँले बढेको छ।