काठमाडौँ, माघ २२ । भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोले अन्तराष्ट्रिय सहयोगहरुको अस्वीकार गरेका छन् । उनले आफ्नो देश र आफु भिखारी नभएको अभिव्यक्ति दिँदै सहयोगको अस्वीकार गरेका हुन् ।
भेनेजुयलाको पक्षमा रहेका युरोपियन देशहरुको आर्थिक सहयोगलाई राष्ट्रपति मदुरोले ठाडो अस्वीकार गरेका छन् । उनले देशको आर्थिक स्थितिलाई सामान्य अवस्थामा ल्याउनको लागि आफ्नै देशका जनताहरु उत्पादनमा जुट्ने र त्यसबाटै गुज्रिएको अर्थव्यवस्थालाई माथि ल्याउने दावि गरेका छन् ।
मदुरोले आफुलाई कसैको सहानुभुतिको आवश्यकता नभएको र भिखारी जस्तो अरुसँग माग्दै नहिड्ने पनि बताए । मधुरोको यस किसिमको अभिव्यक्तिलाई लिएर युरोपियन देशहरुले उनलाई तानाशाही बन्दै गएको आरोप लगाएका छन् । अमेरिकासँगै फ्रान्स, ब्रिटेन, जर्मनीजस्ता १६ मुलुकहरु भेनेजुयलाका राष्ट्रपति मधुरोको विपक्षमा छन् भने ती देशहरुले भेनेजुयलाका विपक्षी नेता ख्वान गोइदोलाई समर्थन गरेका छन् । अमेरिकालगायतका देशहरुको समर्थन पाएपछि गोइदोले आफुलाई भेनेजुयलाको अन्तरिम राष्ट्रपति घोषणा गरेका छन् ।
विपक्षी नेता गोइदोले भेनेजुयलाका जनताहरुलाई लिएर सरकार विरोधी आन्दोलन र प्रदर्शन गरेका छन् । यसबाट भेनेजुयलामा हिंसा चर्किएको छ । राष्ट्रपति मधुरोले राजनीतिक संकटकै कारण भेनेजुयलामा गृहयुद्ध मच्चिन सक्ने चेतावनी दिएका छन् भने प्रतिवाद गर्दै गुइदोले यस्तो केही नहुने बताएका छन् ।
भेनेजुयला भयानक आर्थिक मन्दीबाट गुज्रिरहेको छ । औषधि, खाद्यान्न जस्त अत्यावश्यक चिजको कमी भएको छ । भेनेजुयलाका नागरिक महंगीको मारमा परेका छन् । गत वर्ष भेनेजुयलामा हरेक १९ दिनमा बस्तुको मूल्य औसत दोब्बर वृद्धि हुने गरेको थियो । संयुक्त राष्ट्रसंघका अनुसार सन् २०१४ देखि हालसम्म ३० लाख जना देशबाट बिस्थापित भएका छन् ।
भेनेजुयलाका जनताले यिनै मुद्दा उठाएर सरकारविरुद्ध प्रदर्शन गर्दै आएका छन् । प्रदर्शन रोक्न सैन्य बल प्रयोग गरेको आरोप सरकारलाई लाग्दै आएको छ । यसबीच हालै भएको चुनावमा धाँधली भएको आरोप लगाउँदै विपक्षी नेता ख्वान ग्वाइदोले आफैंले अन्तरिम राष्ट्रपति घोषणा गरे र, अमेरिकासहित विश्व शक्तिराष्ट्रहरुको समर्थन पाए ।
तर, चीन र रुस भने माधुरोको पक्षमा छन् । भेनेजुयलामा विदेशी हस्तक्षेपको रुसले निन्दा गरेको छ । रुसले भनेको छ ‘यो जबर्जस्ती खोसिएको सत्तालाई वैध ठहर्याउने कोशिस हो ।’
युरोपीय देशको आर्थिक सहायता
यसबीच ग्वाइदोलाई मान्यता दिएका देशहरुले भेनेजुयलाका जनतालाई औषधि र खाद्यान्नका लागि सहयोग गर्ने बताएका छन् । यसका लागि उनीहरुले करोडौं डलर सहयोग गर्ने घोषणा गरेका छन् ।
ग्वाइदोले देशका सेनालाई आवश्यक सामानहरु जनतासमक्ष पुर्याउन अपिल गरेका छन्, जसबाट लाखौं जनताको जीवन रक्षा हुन्छ । यो सहयोग कोलम्बियासँग जोडिएको सीमाबाट ल्याइने छ । ग्वाइदो चाहान्छन् सेनाले यी सामान त्यहाँबाट ल्याएर जनतालाई वितरण गरोस् । तर, भेनेजुयलाको सेना अहिलेसम्म राष्ट्रपति निकोलस माधुरोको पक्षमा छ ।