काठमाण्डौँ,माघ २२ । चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले राजीनामा दिएकी छिन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्पष्टीकरण माग गरेसँगै उनले मंगलबार राजीनामा दिएकी हुन् ।
अध्यक्ष पौडेलले बुधबारबाट लागू हुनेगरी राजीनामा दिएको फेसबुकमा प्रेस वक्तव्यमाफर्त जानकारी दिएकी छिन् ।
उनलाई चौमासिक समीक्षा बैठकका लागि पत्राचार गरिएको थियो । पत्राचार गर्दा पनि बोर्डमा उपस्थित नभएको र अनुपस्थितिबारे कुनै जानकारी पनि नगराएको भन्दै मन्त्रालयले स्पष्टीकरण मागेको थियो । उनी स्वीकृतिबिनै बिदा बस्ने गरेको र बैठकमा उपस्थित नहुने कारणले सञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटा रुष्ट भएको बताइएको छ ।
मन्त्रालयले आर्थिक वर्ष २०७५–०७६ का लागि चौमासिक समीक्षा बैठक राखेको राखेको थियो । तर, बैठकमा बोर्ड अध्यक्ष पौडेल अनुपस्थित थिइन् । चलचित्र विकास बोर्डको प्रगति सुनाउने कुरामा बोर्ड अध्यक्ष अनुपस्थित भएपछि मन्त्री गोकुल बास्कोटाले मन्त्रालयका उच्च अधिकारीलाई यस विषयमा प्रश्न सोधेका थिए ।
मन्त्रालयले बोर्डको काम सन्तोषजनक नभएका कारण पनि स्पष्टीकरण माग गरेको बुझिएको छ ।
पौडेलले हालैमात्र पत्रकार रवि लामिछानेसँग कोर्ट म्यारिज गरेकी थिइन् ।
राजीनामासँगै पौडेलले आफूले पछिल्लो तीन महिनामा प्राप्त गरेको तलब रवि लामिछानेको संयोजकत्वमा बन्दै गरेको कालिकोटको रास्कोट अस्पताललाई दिने जनाएकी छिन् ।
उनी लेख्छिन्, ‘नेपाल सरकारबाट मैले प्राप्त गरेको पछिल्लो ३ महिनाको आफ्नो सम्पूर्ण तलबबापतको रकम मेरा श्रीमान रवि लामिछानेको संयोजकत्वमा निर्माण हुँदै गरेको रास्कोट सामुदायिक अस्पताललाई दिन चाहन्छु । यो सँगै उनले अबको मेरो अधिकतम समय दुर्गम कालिकोटमा निर्माण हुने रास्कोट सामुदायिक अस्पतालका लागि समर्पित गर्ने कुराको पनि जानकारी गराएका छन्।’