काठमाडौँ, माघ २२ । वृहत जनकपुर क्षेत्र विकास परिषदमा भ्रष्टाचारका अभियुक्त तथा परिषदका तत्कालिन कार्यकारी निर्देशक डा. सुर्यदेव शाह धरौटी तिरेर रिहा भएका छन् ।
सोमबार विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा न्यायधीशहरु चण्टिराज ढकाल र नायरायणप्रसाद पोखरेलको इजलासले शाहलाई ६ लाख धरौटीमा रिहा गर्ने आदेश गरेको हो ।
परिषद्मा भ्रष्टाचार गरेको आरोपमा परिषद्का तत्कालीन अध्यक्ष दिगम्बर रायसहित १० जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । परिषद्का तत्कालीन कार्यकारी निर्देशक साहले ६२ लाख ८८ हजार ५०० भ्रष्टाचार गरेको आयागले दर्ता गरेको आरोपपत्रमा उल्लेख छ ।
भारतीय सरकारको सहयोगमा सञ्चालित धनुषाको जनकपुरधामस्थित परिषद्मा आठ परियोजनामध्ये पाँच वटा बोलपत्रको मूल्याङ्कन गर्दा लगत अनुमानभन्दा ३० प्रतिशत बढी ७६ लाख २८ हजार ५०२ भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
परिषद्बाट रङ्गभूमि मैदान, गङ्गासागर र तिरहुतिया गाछी संरक्षणलगायत विभिन्न आठ वटा ठेक्कामा भ्रष्टाचार भएको हुँदा तत्कालीन दुई कार्यकारी निर्देशक, प्रोजेक्ट इञ्जिनीयर र ठेकेदारका दुई जना प्रतिनिधिविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको थियो ।