बीबीसी । रोमन क्याथलिक समुदायका धर्मगुरु पोप फ्रान्सिसले पादरीहरूले ननहरूलाई यौन दासीका रूपमा दुर्व्यवहार गर्ने गरेको र सो समस्या अझै विद्यमान रहेको बताएका छन्।
पोप फ्रान्सिसले गिर्जाघरका धर्मगुरुहरूले ननहरूको यौन दुर्व्यवहार गर्ने गरेको तथा एउटा घटनामा त यौन दासीकै रूपमा राख्ने गरेको पाइएको सार्वजनिक रूपमा स्वीकार गरेका छन्।
उनले पत्रकारहरूसँग बोल्दै यस्ता दुर्व्यवहार निरन्तर जारी रहेको र आफूले त्यसलाई रोक्ने प्रयास गरिरहेको बताए।
उनले भने, ूमलाई लाग्छ यस्ता घटना अझै भइरहेका छन्। हामी यसलाई रोक्न केही समयदेखि प्रयासरत छौँ। हामीले केही पादरीहरूलाई निलम्बन र केहीलाई निकाला गरेका छौँ।
के गर्दैछ चर्च ?
पादरीहरूले लगातार दुर्व्यवहार गरेको पाइएपछि आफ्ना पूर्ववर्ती पोप बेनेडिक्टले महिलाहरूको एक धार्मिक भेलानै भङ्ग गरिदिएको उनले स्मरण गरे।
पछि भ्याटिकनका एक प्रवक्ताले सीबीएस न्युजसँग कुरा गर्दै पोपले भनेको उक्त भेला फ्रान्समा स्थित रहेको बताए।
पोप फ्रान्सिसले धर्मगुरुहरूद्वारा ननहरूको यौन दुर्व्यवहार भएको स्वीकार गरेको यो पहिलोपल्ट भएको ठानिएको छ।
मध्येपूर्वको ऐतिहासिक भ्रमणमा रहेका बेला पत्रकारहरूसँग बोल्दै पोप फ्रान्सिसले यस्ता दुर्व्यवहार निरन्तर जारी रहेको र आफूले त्यसलाई रोक्ने प्रयास गरिरहेको बताए।
खास खास एवं नयाँ कन्ग्रेगेसनहरूमा यस्तो समस्या ज्यादा रहेको उनले बताए।
गत नोभेम्बरमा क्थाथलिक चर्चका ननहरूको विश्वव्यापी संगठनले ननहरूलाई सत्य बोल्नबाट रोक्ने किसिमका ुमौनता र गोप्यताका संस्कृतिु को निन्दा गरेको थियो।
गत साता भ्याटिकनको एउटा महिला पत्रिकाले एक दुर्लभ खुलासा गरेको थियो जसमा कतिपय ननहरूले तिनिहरूलाई गर्भपतन गर्न बाध्य बनाइएको घटनाहरू बयान गरेका थिए।