बालबालिकामा ‘इन्टरनेट लत’ को समस्या, कसरी हटाउने ?

Diyo post  

काठमाडौँ, माघ २३ । दुई/तीन वर्ष पहिलेसम्म पढाइमा राम्रो छोरा विस्तारै कमजोर बन्दै जाँदा सातदोबाटोका रमण थापा हैरान थिए ।

चार कक्षामा अध्ययनरत १२ वर्षीय उनकाे छोरा रोहन केही समयदेखि विद्यालयबाट फर्किएपछि झोला नै खोल्न नचाहने गरेकोे उनले बताए । छोराको पढाइप्रतिको वितृष्णा र एकोहोरो हुने बानीले उनी पहिले निजी अस्पतालमा जाँच गर्न पुगे । उनकाे सिफारिशमा उनी अघिल्लो साता लगनखेलस्थित मानसिक अस्पताल आइपुगेका थिए । बालकको घरमा मात्रै नभएर विद्यालयमा समेत व्यवहार बदलिँदै गएको शिक्षकले बताउने गरेको उहाँले मानसिक रोग विशेषज्ञलाई बताए ।त्यहाँ आएपछि मात्र उहाँले छोरामा इन्टरनेटको लतले यस्तो समस्या आएको थाहा पाए ।

थापा मात्रै होइन, काठमाडौँ उपत्यकालगायत देशका शहरी क्षेत्रमा धेरै अभिभावक सन्तानले इन्टरनेटमा मात्रै ध्यान दिँदा हैरान छन् । इन्टरनेटको पहुँच नागरिकमा बढ्दै जाँदा बालबालिका विद्यालयले दिएको गृहकार्य गर्ने र पढ्नेभन्दा मोबाइल, ल्यापटप र कम्प्युटरमा इन्टरनेट चलाउने गर्छन् । इन्टरनेटको अत्यधिक प्रयोगकै कारण कक्षामा पनि विद्यार्थी टोलाउने र पढाइका कुरामा ध्यान नदिएको भन्दै धेरै अभिभावक सन्तान लिएर मानसिक रोग विशेषज्ञसम्म पुग्ने गरेको अस्पतालले जनाएको छ ।

मानसिक अस्पतालमा कार्यरत प्रमुख ‘कन्सल्टेन्ट साइक्याट्रिस्ट’ अनन्त अधिकारीले सन्तानलाई इन्टरनेटको लत लागेको भन्दै अस्पताल आउने अभिभावकको सङ्ख्या बढ्दै गएको बताए ।

उनका अनुसार १० वर्षदेखि १७/१८ वर्षसम्मका किशोरकिशोरीमा यस्तो लत पाइएको छ । इन्टरनेटको प्रयोग आफैँमा समस्या नभए पनि यसको अत्यधिक प्रयोगले धेरै समस्यालाई निम्त्याउने गरेको उनले बताए । बालबालिकामा निन्द्रा कम हुने, पढाइमा कमजोर हुने, एकोहोरो टोलाउने लगायतका समस्या पाइएको अस्पतालले जनाएको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीले इन्टरनेटको अधिक प्रयोग गर्दा घरमा आमाबाबुले बोलाउँदा नसुन्ने र झर्काे मान्ने गरेको अभिभावकले बताउने गरेको अधिकारीले बताए। अरु मानसिक रोगको जस्तै समयमा उपचार नगर्दा यो रोगले ठूलो रूप लिने भन्दै समयमा उपचार गर्न उनले अभिभावकलाई सुझाव दिए ।

इन्टरनेटको प्रयोग वयस्क व्यक्तिले धेरै समयसम्म गर्ने भए पनि बालबालिकामा जस्तो उनीहरूमा मानसिक समस्या नदेखिएको अधिकारीले बताए । दश वर्षभन्दा साना उमेरका बालबालिकासमेत चाहेको समयमा इन्टरनेट नपाउँदा झिँजो मान्ने र झगडालु बन्ने गरेको पाइएको अस्पतालले जनाएको छ ।

उनका अनुसार विकसित देशमा जस्तो अहिले नै यो समस्याले ठूलो रूप लिइसकेको छैन । इन्टरनेटको पहुँच बढ्दै जाँदा सँगसँगै यो समस्या बढ्दै गएको यहाँ आउने बालबालिकाको सङ्ख्याले देखाएको छ ।

बालबालिकामा इन्टरनेट अत्यधिक प्रयोगकै कारण विभिन्न किसिमका ‘साइबर’ अपराधमा समेत पीडित र पीडकका रूपमा बालबालिकाको संलग्नता बढेको प्रहरीमा आउने उजुरीले समेत देखाएको छ । बालबालिकामा इन्टरनेटको अधिक प्रयोगले भविष्यमा लागुऔषध सेवनको समेत उत्तिकै सम्भावना रहेको छ ।

देशभरका सरकारी स्वास्थ्य संस्थाले मानसिक समस्याको उपचारका लागि मानसिक स्वास्थ्यको केन्द्रीय अस्पतालका रूपमा उक्त अस्पतालमा सिफारिश गर्दै आएका छन् । विभिन्न निजी अस्पतालले सेवा शुरु गरे पनि यहाँ आउने बिरामी वर्षेनी बढिरहेको अस्पतालले जनाएको छ । अस्पतालको बहिरङ्ग विभागमा दैनिक औसत १५० सम्म बिरामी आउने गरेका छन् । भर्ना हुने बिरामीका लागि अस्पतालमा रहेको ५० शय्या पनि सधैँ भरिने गरेको छ । रासस

सम्बन्धित खबर