काठमाडौँ, माघ २३ । स्थगित मेलम्ची परियोजनालाई टुंगो लगाउनको लागि मेलम्ची खानेपानी विकास समिति र ठेकेदार कम्पनी सिएमसी बिच सिंगापुरमा वार्ता आरम्भ भएको छ । सरकारले ठेकेदार कम्पनीलाइ काममा फर्किनको लागि १४ दिनको सुचना जारि गर्दासमेत नआएपछि समिति आफै सिँगापुर पुगि वार्ता थालेको हो ।
उक्त ठेकेदार कम्पनीले यसअघि नै वार्ताको लागि प्रस्ताव गरेको थियो । सिंगापुर अथवा अन्य मुलुकमा वार्ता गर्नुपर्ने माग राखेपछि सरकारले अस्वीकार गरिदिएको थियो । परियोजनाको ९७ प्रतिशत काम सम्पन्न भएपनि बाँकी काम पुरा गर्नका लागि सरकारले पुरानै कम्पनीलाई फर्काउन लागेको हो ।
बिहीबारसम्म थप छलफल गर्न सिएमसीसँग वार्ता सुरु भएको हो। चेलम्ची संकटको निकास निकाल्न सीएमसीसँग पहिलो चरणको वार्ता सुरु भएको खानेपानी मन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ।
यसअघि सीएमसीलाई पठाइएको पत्रमा मेलम्ची खानेपानी समितिलाई कुनै जानकारी नदिई आयोजनास्थल छाडेर भागेको उल्लेख गर्दै यसका कारणसहित जवाफ दिन भनिएको थियो।
त्यसैगरी आर्थिक रूपमा टाट पल्टेको भन्दै खारेजीका लागि इटाली सरकारलाई सीएमसीले निवेदन दिएको विषयमा स्पष्ट पार्न पनि उल्लेख गरिएको थियो।
ठेकेदार कम्पनी सीएमसीसँग कुनै सहमति नभए सरकारले कानुनी व्यवधान नआउने गरी औपचारिक रुपमा ठेक्का सम्झौता तोड्ने छ।
वार्तामा मेलम्चीका उपकार्यकारी निर्देशक भोजविक्रम थापा, खानेपानी मन्त्री बिना मगरको स्वकीय सचिव विजय भट्टराई, मेलम्चीमा सामान आपूर्ति गर्ने दिनेश श्रेष्ठ र आयोजनाका कानुनी सल्लाहकार सहभागी छन्।