विविसी
सात समुद्र पारि रहेको कुनै सोझो साइनो नभएको ल्याटिन अमेरिकी मुलुक भेनेजुएलालाई लिएर सत्तारुढ दल नेकपाको अध्यक्षको हैसियतले प्रचण्डले जारी गरेको वक्तव्य गलत रहेको प्रधानमन्त्रीले अन्तत: स्वीकार गरेका छन्।
उनले जनतासँग प्रधानमन्त्री भन्ने टेलिभिजन कार्यक्रममा अन्तरवार्ता दिँदै बुधबार भने, “त्यो अलिकति ‘स्लीप’ (चिप्लिएको) भएको हो। म भोलिपल्ट आउँदै थिएँ अघिल्लै दिन वक्तव्य नदिइ नहुने केही कारण परेको थिएन। दिनुपर्ने जरुरी विषय पनि थिएन। जुन भाषा प्रयुक्त भयो त्यो अलि उपयुक्त भाषा पनि भएन।”
उनले आफु सरहका अर्का अध्यक्ष प्रचण्डको भूमिका कम आँकेको देखिनेगरी भने “कोइ एउटा साथीले एउटा विज्ञप्ति दिनुभयो, र त्यसकै पछाडि देश देशका बीचका सम्बन्धहरू अडेको हुँदैन।”
कार्यक्रममा प्रस्तोताले तपाईँ देशमै रहेको भए भेनेजुएलाबारे त्यस्तो वक्तव्य आउने थियो? भनेर सोधिएको प्रश्नको जवाफ दिँदै उनले भने, “आउने थिएन। हाम्रा सुस्पष्ट नीतिहरू छन्। स्थिर नीतिहरू छन्। त्यसकारणले गर्दा त्यस्तो हुने थिएन।”
“त्यो एउटा स्लिप भएकै हो। त्यसैमा अल्झिरहनु वाञ्छनीय हुँदैन,” उनले भने।
प्रधानमन्त्रीले भने झैं एउटा वक्तव्य नभएर प्रचण्ड, त्यसपछि सरकार, त्यसपछि प्रचण्डको दोश्रो भनाइ र पार्टीका तर्फबाट पार्टीका विष्णु पौडेलले हस्ताक्षर गरेको विज्ञप्ति जारी भएका थिए।
ती सबैको अन्तर्य एउटै रहेको बुझाइ अमेरिकीहरूको छ र उनीहरू नेपाली शैलीबाट छुब्ध भएका छन्।
प्रधानमन्त्रीको यो स्वीकारोक्ति अमेरिकी राजदूत र्याण्डी बेरीसँग गम्भीर बैठक भएको भोलिल्पट आएको छ।
मङ्गलबार प्रधानमन्त्रीसँग अमेरिकी राजदूत बेरीले कडा आपत्ति जनाएको समाचार श्रोतले जनाएको छ।
भेनेजुएलामा सत्तारुढ निकोलस मदुरोको नेतृत्वको साटो विपक्षी नेता ह्वान गुएइदोलाई अमेरिकाले समर्थन गरेकोप्रति विरोध जनाउँदै नेकपाको वक्तव्य प्रधानमन्त्री ओली स्वीट्जर्ल्याण्डको डाभोसबाट फर्कँदै गर्दा जारी भएको थियो।
तर उनी फर्किसकेपछि पनि लगत्तै परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यप्रति पनि अमेरिका असन्तुष्ट रहँदै आएको छ।
पार्टीप्रति स्पष्ट विमति जनिने धारणा राख्दै प्रधानमन्त्रीले त्यसलाई शब्दमा भएको त्रुटिपूर्ण छनोट वा स्लिपका रूपमा लिन आग्रह गरेका छन्।
भेनेजुएला प्रकरणमा एक हदसम्म त्रुटि भएको मान्दामान्दै प्रधानमन्त्री ओलीले त्यस किसिमका विषयमा अल्झिरहन नहुने पनि बताए।
“अमेरिकाजस्तो विशाल देशले यस्ता स-साना कुरामा अल्झिरहन वाञ्छनीय हुँदैन।”
उक्त अन्तर्वार्ताको क्रममा प्रधानमन्त्री ओलीले सार्वजनिक रूपमा चर्चा गरिएको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नेपालबारे टिप्पणी गरेको भनी प्रसारित खबरको प्रसङ्गसमेत कोट्याउँदै नेपालको बचाउ गर्ने प्रयास गरे।
“जस्तो सम्बन्ध विग्रियो यस्तो भयो र उस्तो भयो भन्ने हल्ला छ त्यस्तो होइन। आफ्नो नाम लिएर बोलिएको प्रसङ्गमा अमेरिकालाई अलिकति चित्त दुखेको होला। तर त्यस्तै चित्त दुखाउने हो भने त हामीहरू जस्तो सानो देशलाई अर्को देशको अङ्ग होइन र भनेर कसैले भन्यो भने अलि धेरै चित्त दुख्ने होइन र?”
“अलि सानो र कमजोर भयो भने चित्त दुखाउन पनि नपाउने अनि ठूलो भयो भने धेरै चित्त दुखाउने हो र?”