प्रचण्ड भेनेजुयलाको पक्षमा, भन्छन ‘भेनेजुयलाको राजनीतिक संकट अमेरिकाको ग्राण्ड डिजाइन हो’

Diyo post  

काठमाडौँ, माघ २४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेनेजुयलाका विषयमा आफुले जारि गरेको विज्ञप्तिमा अडिग रहेको बताएका छन् । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले आफुले जारि गरेको वक्तव्य एक राजनीतिक वक्तव्य भएको बताए ।

आफुले जारि गरेकै स्पिरिटमा परराष्ट्र मन्त्रालयबाट पनि वक्तव्य आएको बताउँदै दाहालले एउटा स्वतन्त्र, सार्वभौम सत्ता सम्पन्न राष्ट्रको राजनीतिक घटनाक्रममा बाहिर कतैबाट हस्तक्षेप नहोस् भन्ने उद्धेश्यले विज्ञप्ति जारि गरेको बताए ।

आफुले जारि गरेको वक्तव्यको विषयलाई लिएर केही मिडियाहरुले आफुलाई फसाइएको कुरा लेखेको तर सो सत्य नरहेको बताए । कसैबाट आफुलाई दबाव नरहेको बताउँदै अध्यक्ष प्रचण्डले एक राजनीतिक दलको अध्यक्षको हैसियतले बोलेको कुरालाई मिडियाहरुले अतिरञ्जित गरि विवादित विषय बनाएको आरोप लगाए ।

के थियो प्रचण्डले प्रकाशित गरेको विज्ञप्तिमा

अध्यक्ष प्रचण्डले प्रकाशित गरेको विज्ञप्तिमा भेनेजुयलाका वर्तमान राष्ट्रपति निकोलस मधुरोलाई समर्थन गरिएको छ । संयुक्त राज्य अमेरिका र केही युरोपियन मुलुकहरुले भेनेजुयलामाथि गरेको राजनीतिक हस्तक्षेपको विरोध जनाइएको छ ।

भेनेजुयलाका विपक्षी दलका नेता ख्वान गाइदो आफुले आफैलाई अन्तरिम राष्ट्रपति घोषित गर्नु, अमेरिका लगायतका देशहरुले उनलाई समर्थन गर्नु र जनताबाट निर्वाचित भएर आएका राष्ट्रपति मधुरोविरुद्ध भड्काउनुलाई अमेरिकाको ग्राण्ड डिजाइन भएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै संयुक्त राज्य अमेरिकाले भेनेजुयलामा द्वन्द्व र हिंसा फैलाउन खोजेको समेत आरोप लगाइएको छ ।

विज्ञप्तिमा अमेरिकालाई एक सार्वभौमसत्ता सम्पन्न मुलुकमा हस्तक्षेप नगर्न र देशको आन्तरिक मामिलामा सोही देशलाई नै निर्णय गर्ने दिने अधिकार नखोस्न चेतावनी दिएको छ । साथै विश्वका अन्य मुलुकहरुलाई पनि भेनेजुयलामा अमेरिकाले गरेको हस्तक्षेपविरुद्ध उभिनको लागि आह्वान गरेको छ ।

मन्त्रालयले जारि विज्ञप्तिमा के भनियो ?

भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विषयमा नेपाल सरकारले समेत चासो दिएको थियो । शक्तिशाली मुलुकहरुले आफुभन्दा कमजोर मुलुकको राजनीतिक मामिलामा हस्तक्षेप गरेको कारण विश्वका अन्य मुलुकहरुले समेत अमेरिकाको विरोध गरिरहेको छ । नेपाल सरकारको परराष्ट्र मन्त्रालयले एक साताअघि प्रकाशित गरेको विज्ञप्तिमा पनि भेनेजुयलामा अमेरिकी हस्तक्षेप गलत भएको निष्कर्ष निकालेको थियो ।

कुनैपनि देशको आन्तरिक मामिलाको हल गर्नको लागि त्यहीको राजनीतिक दल र जनतालाई दिइनुपर्छ । राजनीतिक समस्याहरुको समाधानका लागि संविधानले उल्लेख गरिएबमोजिम समाधान खोज्नुपर्छ । एक सार्वभौम सत्ता सम्पन्न देशको राजीनितिक समस्यामा वाह्य हस्तक्षेप गर्नुलाई मन्त्रालयले समेत विरोध गरेको छ ।

नेपाल कम्य्निष्ट पार्टीको विज्ञप्तिपछि प्रमु्ख प्रतिपक्ष दल नेपाली कांग्रेसले विरोध जनाएको थियो । देशमा आउन सक्ने संकटको परवाह नगरि जे मन लाग्यो त्यही प्रकाशन गरिएको भन्दै सदनमा चर्को विरोध गरिएको थियो ।

सम्बन्धित खबर