
काठमाडौं, २९ माघ । एभिन्युज टेलिभिजनबाट जागिर छाडेका तीन पत्रकारले एभिन्युज नेटवर्कका मालिक तथा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व उपाध्यक्ष भाष्करराज राजकर्णिकारले तलब नदिई धम्की दिएको आरोप लगाएका छन् ।
पत्रकारहरु बालकृष्ण गौतम, पुण्य प्रसाद धमला र दीपक अर्यालले नयाँ पत्रिका राष्ट्रिय दैनिक मार्फत यस्तो आरोप लगाएको हो । यसअघि नयाँ पत्रिका दैनिकमा तीन पत्रकारले एभिन्युजको सामान चोरेर हिँडेको आरोप लगाउँदै एभिन्युज व्यवस्थापनले सुचना प्रकाशन गरेको थियो ।
सुचनाको खण्डन गर्ने क्रममा उनीहरुले पत्रिकामाथि समेत मानसिक तनाव दिएको आरोप लगाएका छन् ।

एभिन्युजका मालिक भाष्करराज राजकर्णिकारले पत्रकारहरुले तलब माग्दा बन्द कोठामा बोलाएर करियर सिध्याइदिने धम्की दिएको समेत ती पत्रकारले उल्लेख गरेका छन् ।
‘तीन महिनाअघिदेखि तलब र सेवा–सुविधाबारे छलफल गर्ने भन्दै भूलभुलैयामा राख्ने र दुई महिनादेखिको तलब र सेवा सुविधाबारे छलफल गर्ने भन्दै भुलभुलैयामा राख्ने र दुई महिनादेखिको तलब समेत नदिने संस्थाले श्रव्य दृष्य सामग्री चोरी गरेको अभियोग लगाउनुमा कुनै सत्यता छैन,’ सुचनाको खण्डनमा भनिएको छ,‘अझ बन्द कोठामा राखेर एभिन्युज नेटवर्कका अध्यक्ष भाष्करराज राजकर्णिकारले करिअर सक्ने धम्की दिएको कुरा यहाँ हरु माझ अवगत गराउँछौँ ।’
गत माग १८ गते तीन पत्रकारले विधिवत रुपमा जागिर छाडेका थिए । उनीहरुले एभिन्युज टेलिभजनको नाममा रहेको एक थान सिम, संस्थागत परितय पत्र र नियुक्ति पत्र मात्रै भएको बताएका छन् । उनीहरुले तलब आउनासाथ संस्थाको स्वमित्वमा रहेको तीनै थोक फिर्ता गर्ने बताएका छन् ।