गोरखा, माघ २९ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराईले बूढीगण्डकी परियोजनामा मुख्य पार्टीका तीनवटा शीर्ष नेताले कमिशन खाएको बताएका छन् । नयाँ शक्ति पार्टी, नेपालद्वारा मध्यपहाडी पुष्पलाल लोकमार्गमा आयोजित जनसंवाद यात्रा २०७५ अन्तर्गत मंगलबार गोरखाको आरुघाटमा आयोजित अन्तरक्रियामा बोल्दै उनले बुढीगण्डकी कमिशनखोरहरुको चक्करमा परेको बताए ।
‘बुढीगण्डकी नेपालीले बनाउनुपर्छ, समयमै बनाउनुपर्छ’, उनले भने, ‘भिजन नभएका नेताहरु भ्यू टावर बनाएर बूढीगण्डकीलाई पछाडि धकेलिरहेका छन् ,मान्छे भनेको आधा पापी वा पाशविक गुण र आधा सन्त अथवा मानवीय गुण रहेको प्राणी हो । क्रान्तिको रापताप सेलाएपछि सत्तामा पुगेपछि पाशविक प्रवृत्ति बढ्दो रहेछ,उनले भने , म व्यक्तिलाई दोष दिन्न तर पाशविक प्रवृत्ति नरोके जो पनि बिग्रन सक्छ ।’
हिजो त्याग गरेका नेताहरुलाई राज्यलाई दुहुनो गाई बनाएको उनले बताए । उनले भने, ‘जनताको सेवा गर्छु भनेर राजनीतिमा छिर्नेहरु रातारात अभिजातवर्गमा रुपान्तरण भए । राज्यलाई योगदान गर्नेभन्दा दोहन गर्नतिर लाग्नुभयो ।’ देशमा ठूला ठूला काण्डहरु यसैकारण घटिरहेको उनको बुझाई थियो । ‘बूढीगण्डकी तीनवटै पार्टीका ठूला नेताहरु मुछिएका छन्,ु उनले भने , ‘त्यसैले यो परियोजनालाई भकूण्डो खेलेजस्तो गरिरहेका छन् । कहिले यता फाल्ने कहिले उता फाल्ने गरेर अलपत्र पारिरहेका छन् ।’
पार्टीका नेताहरुले गडबडी गर्दा नेता कार्यकर्ताले उनीहरुलाई निरन्तर खबरदारी गर्नुपर्नेमा उहाँको जोड थियो । ‘मलाई पनि खबरदारी गर्नुहोस् । म त्यही भएर निरन्तर जनताकोमा जान्छु, उनले भने, ‘हामी जनता पनि नयाँ नबनीकन देश बन्दैन । पुरानो सोच सबैले त्याग्नुपर्छ ।’
जनसंवाद यात्राको महत्वमाथि बोल्दै उनले यसअघि पृथ्वीनारायण शाहले गरेको एकीकरण प्रशासनिक र फौजी एकीकरण मात्रै भएको बताए । उनले भने, ‘मध्यपहाडी लोकमार्ग नेपालको भौगोलिक र राष्ट्रिय एकीकरण गर्ने मेरो विश्वास छ ।’ उनले मध्यपहाडी लोकमार्ग आसपास ७ जातिहरुको घना बसोबास रहेको र यो लोकमार्गले उनीहरुबीचको आवतजावत र संसर्ग बढ्ने विश्वास व्यक्त गरे । सयौं थुंगा फूलका एउटै माला यसअघि बनिनसकेकोले सडकले जनतालाई जोड्ने र समृद्धिको आधार सिर्जना गर्ने उनको धारणा थियो ।
प्राकृतिकरुपले संसारमै धनी देश भएर पनि गरिब भएर बाँच्नुपर्ने बिडम्बनापूर्ण अवस्थाबाट मुक्त गर्न नयाँ शक्तिले नयाँ युगको नेतृत्व गर्न सक्ने पार्टी निर्माण सुरु गरेको उनले बताए ।
यो एजेन्डा बिस्तारै सबैले स्वीकार्दै गएको उनले बताए । ‘घर भत्काउने क्षमता भएका मानिसले घर बनाउन नसक्न सक्छ । बनाउने काम गर्न छुट्टै क्षमता चाहिन्छ, उनले भने, ‘अब देश बनाउनका लागि त्यस्तै क्षमता भएका मानिसहरु राजनीतिमा आउनुपर्छ । हिजोको कांग्रेस, एमाले र माओवादी भएर पुग्दैन भनेर म नयाँ राजनीतिक अभियानमा लागेको हुँ । यो प्रक्रिया संसारभरी नै देखिएको छ ।’
माओवादी छाडेकोबारे नागरिकले उठाएको प्रश्नको जवाफ दिँदै उनले भने, ‘मैले माओवादी छाडेका होइन, माओवादीले आफ्नो काम सकिसकेपछि म त थप अगाडि बढेको हो । धोका दिएको होइन, उहाँले भन्नुभयो, बरु माओवादीलाई एमालेमा लगेर मिसाएर प्रचण्डजीले धोका दिनुभयो ।’