काठमाडौँ, माघ २९ । कर्मचारी समायोजन अध्यादेश २०७५ अनुसार ६ सय ६२ सहसचिवको समायोजन गरिएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीका अनुसार अनलाईन फारम भरेका ६ सय ६२ सहसचिवलाई समायोजन गरिएको हो ।
समायोजन भएका कुल सँख्यामध्य ५ सय ६० जना सहसचिवलाई संघ र १ सय २ सहसचिवलाई प्रदेशमा समायोजना गरिएको हो । प्रवक्ता अधिकारीका अनुसार मन्त्रीपरिषदको स्वीकृतीको आधारमा सहसाचिवहरुलाई समायोजन गरिएको हो ।
यसअघि सरकारले सचिव र ८४८ उपसचिवको समायोजन गरिसकेको छ । समायोजन गरिएका सहसचिवको समायोजनको पत्र तयार भइरहेको मन्त्रालय स्रोतले बताएको छ ।
सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि गत पुस ११ गतेदेखि यही माघ २ गतेसम्म अनलाइन फाराम भर्न समयसीमा तोकेको थियो । उपसचिवको समायोजन सकिएपछि शाखा अधिकृतदेखि तल्लो तहका कर्मचारीलाई समायोजन गर्ने सरकारको तयारी रहेको छ ।
सरकारले आगामी फागुन ३ गतेसम्म अनलाइन आवेदनका आधारमा सबै कर्मचारीको समायोजन गरिसक्ने लक्ष्य लिएको छ । सरकारले सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ ।