यस्तो पनि ‘स्मार्ट सिटी’ : हिलाम्य र धुलाम्य निलकण्ठ नगरपालिका (फोटो र भिडियो)

दियो पोस्ट  

धादिङ, माघ २९ । धादिङको निलकण्ठ नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउने मुख्य नाराकै कारण २ वर्षअघि भएको स्थानीय तहको निर्वाचनमा भिम ढुंगाना नगर प्रमुखमा निर्वाचित भए । तत्कालिन नेकपा माओवादी केन्द्रसँगको सहकार्यमा ढुंगानाले नगर प्रमुखको जिम्मेवारी पाएका हुन् । त्यतिबेला दुई ठूला पार्टीबाट उमेदवारी दिएका नगरप्रमुख ढुंगानाले निर्वाचन सकिने वित्तिकै आफ्नो हातमा अधिकार प्राप्त हुने वित्तिकै निलकण्ठ नगरपालिकालाई ‘स्मार्ट सिटी बनाउने घोषणा गरे ।


तर कार्यकालको झण्डै आधा समय बित्नै लाग्दा घोषणा केवल चुनावी नारामा मात्रै सिमित रह्यो । ‘स्मार्ट सिटी’ भनिएको निलकण्ठ नगरपालिकाका केही ठाउँमा अझै मोटरबाटोको ट्रयाक समेत खोलिएको छैन । ट्रयाक खोलिएको ठाउँमा पनि टालटुले काम भएको छ । निलकण्ठ नगरपालिकालाई बृहत्तर बनाउने भनेर साविकका केही गाविसलाई समेत गाभ्ने काम भयो । तर, ति गाभिएका साविकका गाविसका नागरिकले करको भारभन्दा अर्को सफलता हात पार्न सकेन ।


आर्थिक अभावकै कारण स्मार्ट सिटीको पहिलो र प्रमुख पूर्वाधार सडक बन्न नसकेको हो भने, सम्बन्धित निकायमा पहल गर्नुपर्ने हो । नगरप्रमुख ढुंगानाले त्यो पनि गरेका छैनन ।


उसो त केही समयअघि ‘स्मार्ट सिटी’ बनाउने अभियानमा सहयोग गर्ने भन्दै दक्षिण कोरियाले समेत आशा देखायो । दक्षिण कोरियाले स्मार्ट सिटीका लागि आवश्यक पूर्वाधार निर्माणका लागि चौतपर्फी सहयोग गर्ने घोषणा नै गर्यो ।


दक्षिण कोरियाले समेत चासो देखाएको नगरपालिकाको विकासको काममा नगरप्रमुखको काम चाँही किन यति सुस्त ? स्थानीयबासिन्दाको आक्रोस यहि छ । नगरबासि भन्छन् ,‘हामीहरुलाई करको भारी मात्रै बोकाउने काम भयो । स्मार्ट सिटीको नाममा नगरपालिकाले हामीसँग कर उठाउछ तर कर तिरेबापतको सेवाको महशुस गर्न पाएनौँ । हाम्रो भोटको अपमान भयो ।’


स्मार्ट सिटीका लागि बजारको राम्रो व्यवस्थापन हुनुपर्ने भएपनि त्यसको पहिलो खुड्किलो सडक नै लथालिंग भएपछि अरु पूर्वाधारको विकास त झन सम्भव नै भएन । पानि पर्दा हिलो र घाम लाग्दा धुलोले सताईएका स्थानीयबासिन्दा नगरपालिकाको कामले वाक्क भैसकेका छन् ।

उनीहरु भन्छन्,‘धुलो र हिलोको उकुसमुकुसमा बसेर स्मार्ट सिटीको बासिन्दा हौँ भन्न हामीलाई लाज लाग्छ ।’ निलकण्ठ नगरपालिकामा पर्ने जिल्लाकै सदरमूकाम धादिङवेशी नजिकका सडकहरु समेत भरपर्दो छैन । सदरमुकाम नजिकका मुरलीभञ्ज्याङ, पाल्पा लगायत ठाउँहरुमा अहिले पानी परेको बेला गाडी पुरिने हिलो र घाम लागेको बेला आँखा छोपिने धुलोको सास्ती भैरहेको छ ।


पाल्पाभञ्ज्याङदेखि सुनखानीसम्मको सडक बढि चेपुवामा


सदरमुकाम धादिङवेशीदेखि आरुघाट सडकखण्डको अहिले स्तरोन्नती भैरहेको छ.। केही समयमा यो सडकखण्ड राम्रो बन्ने झिनो आश भएपनि पाल्पाभञ्ज्याङदेखि ज्वालामुखी गाउँपालिकाको सुनखानीसम्मको बाटो बनाउन कुनै चासो दिईएको छैन । ज्वालामुखीको धौखोलासम्म निलकण्ठ नगरपालिका पर्ने र यो सडकखण्ड बनाउन दुबै स्थानीय तहले चासो नदिदा समस्या भएको हो ।

ज्वालामुखीले निलकण्ठको भुभाग भन्ने र निलकण्ठले ज्वालामुखी जोड्ने भुभागको रुपमा लिदै मर्मत नगर्दा स्थानीयबासिन्दा हैरानी खेपिरहेका हुन् ।


स्मार्ट सिटी हुनका लागि स्मार्ट निमार्ण, स्मार्ट स्वास्थ्य, स्मार्ट भवनहरु, स्मार्ट खेती वा कृषि, स्मार्ट सरकार र स्मार्ट यातायात को उचित व्यवस्था हुनु निकै आवश्यक्ता पर्ने भएपनि ढुंगाना नगरपू्रमुख रहेको निलकण्ठ नगरपालिकामा ‘स्मार्ट सिटी’ भन्न लायक कुनै गुण देखिंदैन ।

हेरौँ ‘स्मार्ट सिटी’ घोषित निलकण्ठ नगरपालिकाको लथालिंग सडक (भिडियोमा)

सिफारिस