
महोत्तरी, माघ २९ । महोत्तरीको मनरासिसबा नगरपालिका–८ सहसरामकी २१ वर्षीया धनमन्ती देवीको हत्या भएको छ । घटनाको विषयमा प्रहरीलाई जानकारी नगराई हतार–हतार शव जलाउने तयारी गरेकाले हत्या गरेको हुन सक्ने भन्दै प्रहरीले पतिसहित २ जनालाई पक्राउ गरेको छ ।
घटना शंकास्पद रहेको भन्दै प्रहरीले धनमन्तीका पति मनोज र जेठानी अनिता देवीलाई पक्राउ गरेको हो । माइतीपक्षले माग अनुसार अनुसार २ लाख पर्ने एउटा मोटरसाइकल, दुई लाख रुपैयाँ, दुई तोला सुन लगायत फर्निचर र अन्य सरसमान गरी ८ लाख रुपैयाँको दाइजो दिएको बुबा बद्रीले बताए । धनमन्तीकी भाउजु सीताका अनुसार धनमन्तीका पति मनोजले अब यस्तो श्रीमतीले घर नचल्ने भन्दै अर्को विवाह गर्ने धम्की माइतीपक्षलाई पटक पटक दिने गरेका थिए ।
आइतबार बिहान धनमन्तीको हत्या गरेर हतार–हतार शव जलाउने तर्खरमा रहेको बेला माइती पक्षले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । धनमन्तीको घाँटी र पाखुरामा निलडाम देखिएको प्रहरीले जनाएको छ । ससुराले सुरुमा बुहारी ओछ्यानमै मृत फेला परेको माइतीपक्षलाई बताए पनि प्रहरीलाई भने पासो लगाएर धनमन्तीले आत्महत्या गरेको बयान दिएका छन् ।