
काठमाडौँ, माघ २९ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसँख्या मन्त्री उपेन्द्र यादवकी बुहारीको निधन भएको छ । भक्तपुरस्थित क्यान्सर अस्पतालमा उपचारको क्रममा यादबकी वुहारी मनिषाको मंगलबार निधन भएको हो ।
उनलाई दिल्लीस्थित एम्स अस्पतालमा डेढ बर्षसम्म राखेर उपचार गराउँदा समेत ठिक नभएपछि नेपाल फर्काई घरमै उपचार गराइएको थियो । एम्स अस्पतालले यसअघि नै मनिषाको लामो समयसम्म बाँच्ने सम्भावना नरहेको जानकारी परिवारलाई दिइसकेको थियो ।
आठ महिनाअघि नेपाल ल्याइ घरमा उपचार गराइदै राखिएकोमा ६ दिनअघि स्थिति चिन्ताजनक भएपछि भक्तपुरको क्यान्सर अस्पताल पुर्याइएको थियो । उपचाररत मनिषाको मंगलबार अपराह्न निधन भएको अस्पतालले परिवारलाई बताएको हो ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहनुभएका यादवका छोरा अमरेन्द्र यादव र मनिषाको २०७२ वैशाख २९ गते विवाह भएको थियो । उनीहरुको दुई वर्षकी छोरी छिन् ।