
काठमाडौँ, फागुन २ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको विद्यार्थी संगठन र प्रहरीबिच झडप भएको छ । अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त टोली संगठन विस्तारको क्रममा कालिमाटीस्थित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिस्ठान (नाथम) पुगेका थिए ।
नाथममा अहिलेसम्म कुनैपनि राजनीतिक दलको विद्यार्थी संगठन नभएको र प्रतिष्ठानले पनि विद्यार्थी संगठन विस्तारको अनुमति नदिएपछि झडप भएको हो । क्याम्पसका अधिकांश विद्यार्थीहरु समेत राजनीतिक दलको विद्यार्थी संगठन नखोल्ने पक्षमा रहँदा पनि जबरजस्ती गरेर विद्यार्थी संगठनका नेताहरु संगठन बनाउने नाममा दादागिरी देखाउन थालेपछि स्थिति नियन्त्रणभन्दा बाहिर गएको क्याम्पस प्रशासनले जनाएको छ ।
संगठन विस्तारको क्रममा क्याम्पस पुग्दा प्रशासनले पुलिस बोलाएर कुटपिट गरेको अनेरास्ववियु महासचिव ऐन महरले बताएका छन् । प्रहरी र संगठनका नेता कार्यकर्ताबिच विवाद भएपछि झडप भएको हो । झडपमा परि अखिल क्रान्तिकारीका सचिव डिवी साउद, अनेरास्ववियुका सचिवालय सदस्य नारायण घर्तिलगायत पाँच जना घाइते भएका छन् । घाइतेमध्य सचिव साउदको टाउकोमा पाँच टाँका लगाइएको अखिल क्रान्तिकारीले जनाएको छ । उनको बल्खुको वयोधा अस्पतालमा उपचार गराइरहेको बताइएको छ ।
अन्य घाइते हुनेमा केन्द्रीय निर्वाचन आयोगका सदस्य सञ्जय दुवाडी, सम्पर्क विभाग सचिव सागर भट्ट, काठमाडौँ भूगोल जिल्ला कमिटी उपाध्यक्ष राजकुमार ढकाल रहेका छन् ।
अनेरास्ववियुका सचिवालय सदस्य घर्तीले आफू सरकारद्वारा सञ्चालित क्याम्पसमा सङ्गठन विस्तार गर्न जाँदा प्रतिष्ठान प्रशासनले प्रहरी बोलाएर कुटपिट गरेको बताए । प्रतिष्ठानका कार्यकारी निर्देशक दुर्गादत्त ढकालले प्रतिष्ठानमा अहिलेसम्म कुनै विद्यार्थी सङ्गठनको सङ्गठन नभएकाले जबरजस्ती सङ्गठन खोल्ने क्रममा प्रहरीसँग विद्यार्थी नेताको झडप भएको स्पष्ट पारे ।

अनेरास्ववियुका महासचिव ऐन महरले विद्यार्थी नेताहरुमाथि भएको यस किसिमको आक्रमणलाई सिंगो विद्यार्थी संगठनले गम्भिर रुपमा लिएको र आक्रमणकारीहरुमाथि तत्काल कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । विहीबार एक विज्ञप्ति जारी गर्दै महासचिव महरले विद्यार्थी नेताहरुमाथि आक्रमण गर्नु निन्दनिय कार्य भएको भन्दै कारवाहीको दायरामा ल्याउन आग्रह गरेका हुन् ।