
काठमाडौं, ३ फागुन । सरकारले समस्याग्रस्त सहकारीको रुपमा घोषणा गरेको ओरेन्टल सहकारी संस्थाको स्वामित्वमा रहेको अरबौंको जग्गा एन आई सी एसिया बैंकले कौडीको भाउमा कब्जा गरेको छ ।
राजधानीको धापासीहाइटमा रहेको २६ रोपनी ९ आना जग्गा एन आई सी एसिया बैंकले कब्जा गरेको हो ।

साविकको धापासी गाविस वडा नम्बर २ र ३ रहेको उक्त जग्गा अहिलेको बजार भाउ अनुसार डेढ अर्बभन्दा बढी मुल्य पर्ने भएपनि एन आई सी एसिया बैंकले २४ करोडमा बिए गरेको पाइएको छ ।
एनआइसी एसिया बैंकका उच्च तहका व्यवस्थापकको मिलेमतोमा उक्त जग्गा कब्जा गरिएको पाइएको छ ।
हजारौं सर्वसाधरणको रकम डुबेको ओरेन्टल सहकारीको अरबौँको सम्पत्तिमा उक्त बैंकले आफ्नो मुख्य कार्यालय बनाउने तयारी गरेको पाइएको छ ।

ओरेन्टल सहकारीले उक्त जग्गामा भौतिक संरचना निर्माण गर्दै आएको थियो । करिब ३० करोड भन्दा बढी लगानी गरेर भौतिक संरचना निर्माण गर्दै गर्दा सहकारीका अध्यक्ष सुधीर बस्नेत पक्राउ परेका थिए ।
भौतिक संरचना निर्माण गर्नका लागि २४ करोड ऋण दिएको एनआइसि एसियाले त्यति नै मुल्यमा उक्त जग्गाको बिए गरेपछि एक वर्षअघिदेखि नै ओरेन्टल पीडितहरु बैंक विरुद्ध आन्दोलन गर्दै आएका थिए ।
बस्नेत जेलमै रहेको मौका छोपी बैंकका उच्च व्यवस्थापनका व्यक्ति मिलेर उक्त जग्गाको लिलामी निकाली आफैले सकारेको बताइएको छ ।

बैंकले ओरेन्टल पीडितको रकममा किनिएको जग्गा कब्जा गरेर आफ्नो मुख्य कार्यालय बनाउन खोजेपछि सरकारले गठन गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समेत पत्राचार गरेको थियो ।

उक्त जग्गाको बेचविखन र भोगचलन नगर्न भन्दै मिति २०७५ असोज १९ गते मालपोत कार्यालय टोखालाई पत्राचार समेत गरेको थियो । ‘समस्याग्रस्त सहकारी ओरेन्टल को– अपरेटिभका तत्कालिन अध्यक्ष सुधीर बस्नेत सञ्चालक रहेको ओरेन्टल विल्डर्स डेभलपर्स प्रा.लीबाट सञ्चालित काठमाडौँ जिल्ला कामनपा ४ धुम्बाराही परियोजनामा निम्न जग्गाहरु एनआइसी एशिया बैंकमा धितो राखी कर्जा लिएकोमा उक्त बैंकले बैंकिङ सम्पत्तिका रुपमा राखेको तपशिलमा रहेका जग्गा र सोमा रहेको सम्पूर्ण भौतिक संरचना पछि छानबीन गर्दा ठहरेबमोजिम हुने गरी हाललाई यस समितिको स्विकृति बिना बेचबिखन, स्वामित्व हस्तान्तरण र दाखिल खारेज समेत हुन गर्न नपाउने गरी रोक्का राखी सोको जानकारी पठाईदिन समितिको ०७५।०६।१२ कोे निर्णय अनुसार अनुरोध गरिन्छ,’ पत्रमा उल्लेख छ ।
समितिका अनुसार धापासी वडा नम्बर २ मा रहेका जग्गाका कित्ता नम्बर – ४१०–१५३–३५९–२०५–२०४– २०३–१५७–३६६–३६४–३६३/६२/६१ र १५२–१५०–१४९–४०, १९०, १५१,३२५,३२४ रहेका छन् ।
त्यस्तै धापासी गाविस वडा नम्बर ५ को कित्ता नम्बर ४१०/४३,१७०,४०८,३६४,३४३/४४/४२/४५–३३७–३४४–२७०, २१७, २१४, १९०, ४०३, २७२/४५,१४०,१६९,१८९, २९४, ३७२/७३, ४०२,४११,१६८, ४६, १८८ र २८४ का जग्गाहरु एनआइसि एसिया बैंकले कब्जा गरेको छ ।
बैंकले जबरजस्ति गरेपछि समस्याग्रस्त सहकारी समितिले २०७५ पुस ४ गते पुन ताकेता गर्नु परेको थियो ।
‘धापासी वडा नम्बर २ र ५ का जग्गाहरु हाल साविक भई नयाँ कित्ता कायम भईसकेको हुँदा कित्ता सबैको विवरण सहित यस कार्यालयको माथि उल्लेखित पत्र अनुसार सम्पूर्ण साविक कित्ताहरु, जग्गाहरु, के प्रक्रिया र कुन मितिमा हाल साविक भएका हुन् कित्ता नम्बर, सोको प्रमाणविक कागजात, उपलब्ध गराईदिन हुन र पत्र अनुसार रोक्का राखि यस कार्यालयलाई जानकारी गराईदिनु हुन अनुरोध छ,’ ताकेता पत्रमा भनिएको छ ।
यसअघि सुर्खेत घर भएका बरकत अलि साई र फातिमा साइको परिवारलाई एनआइसि एसिया बैंकले सुकुम्बासी बनाएको रिपोर्ट प्रकाशन भएको थियो ।
याे पनि पढ्नुहाेस्