
काठमाडौँ, फागुन ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरेका छन् । काश्मिरमा ४२ जना भारतीय सुरक्षाकर्मीको मृत्यु हुने गरि आतंककारी हमला भएपछि प्रधानमन्त्री ओलीले नरेन्द्र मोदीलाई टेलिफोन गरेका हुन् ।
टेलिफोनमार्फत प्रधानमन्त्री ओलीले शुक्रबार भएको आतंककारी हमलाको निन्दा गर्दै नेपालले यस आक्रमणको घोर भत्र्सना गरेको बताएका छन् । उनले आक्रमणमा परि मृत्यु् हुने सुरक्षाकर्मीहरुप्रति श्रद्धाञ्जली ब्यक्त गरे भने घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत फोनमार्फत गरेका छन् ।
टेलिफोनमा प्रधानमन्त्री ओलीले आफु र सरकार भारतको पक्षमा रहेको र यस्ता किसिमको आतंककारी हमलाको विरुद्धमा भारतलाई साथ दिने आश्वासन समेत व्यक्त गरेका छन् । उनले आतंककारी कृयाकलपा जुनसुकै रंग, जाति या क्षेत्रको भए पनि त्यो सधैँ निन्दनीय हुने र यस संकटमा आफु भारतलाई साथ दिन तयार रहेको समेत स्पष्ठ पारेका छन् ।

भारत नियन्त्रित काश्मिर क्षेत्रमा भएको आतंककारी हमलाको निन्दा गर्दै परराष्ट्र मन्त्रालयले यसअघि नै विज्ञप्ति जारि गरिसकेको छ । परराष्ट्रले जारि गरेका विज्ञप्तिमा आतंकावादी आक्रमणको भत्र्सना गर्दै मृत सुरक्षाकर्मीहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको थियो भने घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको थियो ।