अख्तियारका भ्रष्ट आयुक्तलाई तत्काल कारवाही गर्नुपर्छः पुर्वमन्त्री तामाङ

दियोपोस्ट संवाददाता

काठमाडौं, ५ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले भ्रष्टाचारमा मुछिएर राजीनामा दिएका अख्तियार दुरुपयोग अनुशन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई तत्काल कारबाही प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता तामाङले भने,‘यो प्रकरणमा तत्काल पाठकलाई कारबाही होस् भनेर आवाज उठेको छ । जनताले भ्रष्टाचारीहरुलाई छिटोभन्दा छिटो कारबाही होस् र छिटो एक्शन लिनुपर्छ भनेर उठाएको आवाज जायज छ । म पनि त्यही भन्छु । सरकारले यस सम्बन्धमा छानबिन गरेर कारबाहीको प्रक्रिया अघि बढाउँछ ।’

उनले नेपालमा भ्रष्टाचार बढ्नुको मुख्य कारण नै ऐन तथा कानुन दोषी भएको स्पष्ट पारे । कानुनकै कारण भ्रष्टाचार बढेको र यसलाई कर्मचारीको नैतिकताको कारणले बढावा दिएको समेत उनले बताए । त्यसकारण भ्रष्टाचारलाई निर्मुल पार्ने किसिमको कानुनहरु बनाउनुपर्ने नेता तामाङले सुझाए ।

भ्रष्टाचारलाई सजाय दिन पनि वर्तमान ऐन तथा कानुन पर्याप्त नभएको नेता तामाङले ठम्याएका छन् । भ्रष्टाचार कसुर अनुसारको कडा कानुन नभएकै कारणले भ्रष्ष्टाचार गर्नेहरु खुलेआम सक्रिय भएको बताए । तत्काल कडा कानुन ल्याएर भ्रष्ष्टाचारलाई निर्मुल पार्न सकेमात्र सरकारले चाहेको आर्थिक समृद्धीको परिकल्पना यथार्थमा परिणत हुन सक्ने बताए ।

भ्रष्टाचारलाई नियमन र नियन्त्रण गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारी नै ठुलो भ्रष्टाचार मुद्धामा पर्नुले देशमा कस्तो पद्धतीको विकास भइरहेको छ भन्ने कुराको अड्कल लगाउन सहजै सकिने उनले बताए । अख्तियारका आयुक्त नै भ्रष्टाचारी भएपछि अन्य निकाय र सामान्य कर्मचारीले के पाठ सिक्ने ? उनले प्रश्न गरे । भ्रष्टाचारमा मुछिएका आयुक्तलाई कारवाही हुन्छ भन्नेमा आफु पुर्ण रुपमा विश्वस्त रहेको समेत उनले बताए ।

अदालतमा भने पछिल्लो चरणमा उज्यालोको किरणहरु देखापरेको बताए । पहिलेको तुलनामा न्यायीक क्षेत्रमा सकारात्मक परिवर्तनहरु देखिएकोले केही आशावादी बनाएको उनले बताए ।
फरक प्रसंगमा नेता तामाङले सरकारको एक बर्षे कार्यकाल सफल भएको दावि गरे । उनले प्रधानमन्त्रीले भने अनुसारकै पहिलो बर्ष आधार बर्षको रुपमा भएको र यस अवधिभर कानुन र ऐन हरुको निर्माण भएको बताए । अबका बर्षहरुमा सरकारले वास्तविक रिजल्ट दिने दावि समेत गरेका छन् ।

सरकारले अघि बढाएका राम्रा र उपयोगी कामहरुलाई जनतासम्म पुर्याउन नसक्नु सरकारको कमजोरीको रुपमा देखिएको उनले बताए । पार्टीभित्र सांगठनिक एकताका कार्यहरु पनि नसकिएको कारणले गर्दा सरकारका कामहरुको प्रचार हुन नसकेको समेत उनले बताए । प्रधानमन्त्रीले संसदमा पेश गरेका विकासका प्रत्येक ग्राफहरुलाई हेर्दा सरकार असफल नरहेको निष्कर्श देखिएको बताए ।

सम्बन्धित खबर

सिफारिस