काठमाडौँ, फागुन ५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री नविन्द्रराज जोशीले भ्रष्टाचार र बेथितीविरुद्ध लोक गायक पशुपति शर्माले गीत बाहिर ल्याउँदा सरकारले बन्द गराएको भन्दै आपत्ति जनाएका छन् । उनले पशुपती शर्माको गीतमाथि सरकारले प्रतिबन्ध लगाउनुलाई जनताको अभिव्यक्ति स्वतन्त्रताको हनन गरेको आरोप लगाएका छन् ।
आइतबार रिपोर्टस क्लवमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता जोशीले सरकारको यस किसिमको रवैयालाई पञ्चायतकालिन शासनको उपनाम दिएका छन् । ‘हामीलाई त अहिले पञ्चायतकालिन शासनजस्तो झझल्को लागेको छ’ उनले भने, ‘सरकार दिनानुदिन अलोकतान्त्रिक बन्दै गइरहेको छ’
सरकार कानुन र संविधानको मर्मभन्दा विपरित तरिकाले चलेको आरोप लगाएका छन् । सरकारले भिसिलाई विमानस्थलबाट उठाएर बालुवाटारमा राखेको प्रति समेत नेता जोशीले कडा शब्दमा विरोध गरेका छन् ।
मुलुकमा कम्युनिष्ट शासन शुरुभएपछि भ्रष्टाचार चरम उत्कर्षमा पुगेको र त्यसलाई नियन्त्रण गर्नको लागि सरकार तत्पर नदेखिएको आरोप लगाएका छन् । भ्रष्टाचारका विषयमा सचेतना दिनको लागि गीत लेख्दा र गाउँदा सरकारले नै प्रतिवन्ध लगाएपछि नेपालमा लोकतान्त्रिक गणतन्त्र कायमै छ र भन्ने कुरामा प्रश्न उठ्ने बताए ।
गत महिना प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रस्तुत गरेको तथ्यांकको निन्दा गर्दै नेता जोशीले जनतामाझ भ्रम सिर्जना गर्नकै लागि कम्युनिष्ट सरकारले गलत तथ्यांक प्रस्तुत गरेको आरोप लगाए । प्रधानमन्त्री आफैले तथ्यांक संकलन निकायहरुलाई गलत तथ्यांक दिन प्रेरित गरेको आरोप लगाए ।
उनले सरकारले भनेजस्तो देश आर्थिक समृद्धीतर्फ नगइरहेको समेत प्रष्ट पारेका छन् । देशका सबै सुचकांकहरु नकारात्मक भएको टिप्पणी गर्दै नेता जोशीले देशमा विकासको गतिले भन्दा भ्रष्टाचारको परिमाणले गति लिएको बताए । महंगी वृद्धी, व्यापार घाटा, विदेशी लगानीमा गिरावट आदी तथ्यांकलाई हेर्दा देश पहिले भन्दा तल पुगेको बताए ।
सुन काण्ड, वाईबडी काण्डलगायत भ्रष्टाचार काण्डमा दोषीलाई कारबाही नभएकोमा उनले सरकारविरुद्ध आक्रोश पोखे । उनले भने,‘सुन काण्डमा सरकारले किन परीणाम ल्याउन सकेन ? प्रधानमन्त्रीले डा. गोविन्द केसीको विषयमा संसदीय सर्वोच्चताको खिल्ली उडाउनुभयो ।’
सरकारले हरेक कुरामा तामझाम देखाएको तर परीणाम केहीमा पनि दिन नसकेको उनको आरोप छ । उनले भने,‘ठूलो कुरा गरेर हुँदैन् । काम गर्नुपर्छ । विकास निर्माणका काम गर्नुपर्छ । पानीजहाजको सपना देख्नु गलत होईन । तर, तामझाम गर्नुहुँदैन् ।’ उनले मुलुक अहिले रशातालमा रहेको बताए ।
जोशीले अख्तियार दुरुपयोग अनुशन्धान आयोगका आयुक्त पाठकको भ्रष्टाचारको विषयमा सरकारलाई चार महिना अघि नै जानकारी रहेको भन्ने कुरा बाहिर आएको सुनाउँदै यतिका दिनसम्म पनि किन कारबाही गरिएन भन्दै प्रश्न तेर्साए ।
उनले अहिलेको जस्तै र यही रुपमा भ्रष्टाचार बढ्यो भने मुलुक अझै ठूलो आर्थिक संकटमा फस्ने चिन्ता व्यक्त गरे । उनले भने,‘तथ्यांक हेर्ने हो भने पनि अहिले नेपालको डुईङ विजनेश ५ अंकले घटेको छ, विदेशी लगानी ६६ प्रतिशतले घटेको छ, यो अत्यन्तै चिन्ताजनक हो ।’ मुलुकमा भ्रष्टाचार संस्थागत भएको हो कि भनेर राष्ट्रपति विद्यादेवी भण्डारीले समेत चिन्ता व्यक्त गरेको सुनाउँदै उनले यो ठूलो समस्या भएको बताए ।
उनले सुशासन र सदाचार अब कहाँ छ भनेर खोज्ने दिन आउनसक्नेपनि बताए । जोशीले सरकार पूर्ण रुपमा असफल भएको दाबी गरे ।