सरकारको पहिलो वर्ष पूर्णत असफल भएको प्रतिपक्ष दल नेपाली काँग्रेसको दावी

दियो पोस्ट  

काठमाडौँ,फागुन ५ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारको पहिलो वर्ष पूर्णत असफल भएको दावी गरेको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको पहिलो वर्ष पूर्णत अससफल भएको पार्टीको निष्कर्ष रहेको बताउनु भएको हो । आईतबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी उनले सरकारले एक वर्षमा नागरिक आशा, भरोसा र विश्वास गुमाएको टिप्पणी पनि गरे ।

सरकारले मधेश मुद्दामा, डा। गोविन्द केसीसँग गरिएको सम्झौता गरिएको मुद्दामा, निर्मला पन्तलाई न्याय गर्ने मुद्दामा, बुढिगण्डकी जलविद्युत आयोजना अघि बढाउने सन्दर्भमा तथा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणा गर्ने सन्दर्भमा नागरिकको विश्वास गुमाएको प्रवक्ता शर्माको दावी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार आफ्नो एक वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्नु भएको थियो । तत्सम्बन्धमा आईतबार काँग्रेसले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो ।

प्रवक्ता शर्माले सरकार संघीयतालाई कमजोर बनाउन लागि परेको आरोप पनि लगाउनु भयो । लोकतन्त्रलाई धरापमा पार्न लागेको सरकारले अधिनायकवादी बाटो अंगालेको काँग्रेसको ठम्याई छ ।

काँग्रेसले प्रधानमन्त्री ओलीमा शासकीय क्षमता पनि नदेखिएको दावी गरेको छ । प्रवक्ता शर्माले इतिहासमा सबैभन्दा बढि अनुकूल समय पाएर पनि प्रधानमन्त्री ओलीले शासकीय क्षमता देखाउन नसकेको दावी गरे। उनले सपनाका हवाई उडान भर्न एक वर्षमा प्रधानमन्त्री ओली सफल भएपनि नागरिकको अपेक्षा पूरा गर्न भने असफल भएको बताए ।

सरकारको पहिलो वर्षमा मुलुकमा भ्रष्टाचार संस्थागत भएको दावी पनि काँग्रेसको छ । प्रवक्ता शर्माले राष्ट्रपति विद्या भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना दिवसको अवसर पारेर ‘मुलुकमा भ्रष्टाचार संस्थागत भएको सुनेको छु’ भनेर दिएको अभिव्यक्तिबाटै सरकार भ्रष्टाचार नियन्त्रण गर्न पनि असफल भएको पुष्टि भएको उल्लेख गरे ।

सरकारले अझै पनि प्रदेशको राजधानी र नाम टुंगो लगाउन नसकेकोमा पनि काँग्रेसको असन्तुष्टि छ ।